☰ open Loading... 19 April 2024|  

स्वास्थ्य क्षेत्रमा नगरपालिकाको नयाँ काम
  | १८ माघ २०७४, बिहीबार १७:५४

सल्यान । ग्रामिण क्षेत्रमा रहेका जनताहरुलाई स्वास्थ्य क्षेत्रको पहुँचमा ल्याउनको लागी सल्यानको शारदा नगरपालिकाले नयाँ कार्यको थालनी गरेको छ । यस नगरपालिकाले आधारभूत स्वास्थ्य उपचार सेवा बाट कोही पनि बन्चित नहुन भनेर यस्तो कार्यको थालनी गरेको हो । शारदा नगरपालिकाले नगरभित्रका बिभिन्न स्थानहरुमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ ।

अहिले नगरपालिकाका ५ स्थानमा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरी सञ्चालन गरेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘नगरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु पहिलो उद्देश्य थियो, त्यसै अनुसार स्वास्थ्य क्षेत्रको पहुँच भन्दा टाढा रहेकालाई स्वास्थ्यको पहुँचमा ल्याउनको लागी शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरेका हौँ’– उनले भने ।

उनले अहिले नगरपालिकाका ५ स्थानमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरेको बताए । उनले भने ––‘जनताको माग र आबश्यकतालाई हेरेर स्वास्थ्य क्लिनिक सञ्चालन गरेका हौँ, अहिले नागरिकलाई सजिलो भएको महशुस गरेका छौँ ।’

शारदा नगरपालिका वडा नम्बर १२ को डाँग्री, वडा नम्बर ६ को मदमकाँडा, वडा नम्बर ९ को सालचौर मार्के, वडा नम्बर ११ को रातामाटा र वडा नम्बर १० को मधानामा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको हो । अहिले यी स्वास्थ्य क्लिनिकहरुमा एक जना अहेब र एक जना कार्यालय सहयोगी गरेर दुई जना कर्मचारी रहने नगर प्रमुख अधिकारीले बताए ।

नगरका बिभिन्न स्थानहरुमा शहरी स्वास्थ्य क्लिनिक स्थापना भए सँगै सेवा दिन शुरु गरेको शारदा नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रिता राईले बताईन् । उनले यस क्लिनिक बाट अहिले प्राथामिक उपचारका सेवाहरु दिन शुरु गरेको बताउदैँ आगामी दिनमा गर्भबती जाँच, परिवार नियोजन सेवा पनि दिने बताईन् ।

ती बिभिन्न स्थानहरुमा गाँउघर क्लिनिक सञ्चालन भए सँगै स्थानिय खुसी भएका छन् । पहिले रुघाखोकी, पखाला आदी समस्या भएमा डेढ दुई घण्टा हिडेर स्वास्थ्य संस्थामा सम्म जानु परेको बताउदैँ अहिले शहरी स्वास्थ्य क्लिनिक स्थापना भए पछि निकै खुसीको महसुश भएको शारदा नगरपालिका १० मधानाका लोक बहादुर कवरले बताए ।