☰ open Loading... 21 May 2024|  

लिपुलेक सम्झौतापछि सुक्यो खलंगाको व्यापार, भारत भयो मालामाल
  | २० माघ २०७४, शनिबार १७:२९

दार्चुला । ताक्लाकोट ब्यापार घट्दै जादा नेपाली ग्राहक र ब्यापारी भारतीय बजारमा निर्भर हुन थालेका छन । केही बर्ष पहिले चीनबाट आयत गरिएका विद्युतीय सामग्री र कपडा किन्न भारतीय नागरिक खलंगा बजार आउँथे तर अहिले अवस्था उल्टिएको छ । अहिले दार्चुलाका बासिन्दा चिनियाँ सामान किन्न भारतको पिथौरागढ र चम्पावत पुग्ने गरेका छन् । अहिले दार्चुलामा भारतबाट दैनिक करोर्डौ रुपैयाँका सामान भित्रिने गरेको छ ।

नेपालतिर यातायात नपुग्नु र दिल्ली बेइजिङ हवाइ सेवा सञ्चालन हुनुले दार्चुलाका् व्यापार उल्टिएको हो । दार्चुलादेखि चीनको नाका तिंकरसम्म पुग्ने बाटो बन्द गरिएपछि नेपालको व्यापार सुकेको हो । दार्चुलाबाट तिंकर पुग्ने बाटो माओवादी द्वन्द्वकालमा गोरेटो बन्द गरिएको थियो ।

नेपालतिरको बाटो बन्द गरिएपछि ताक्लाकोटको बजार पूर्णरूपमा भारतीय व्यापारीहरूको कब्जामा गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणका क्रममा सन २०१५ मे मा चीन र भारतबीच नेपाली भूमि लिपुलेक भएर आपसी व्यापार गर्ने द्धिपक्षीय सम्झौता गरेका थिए । छिमेकी दुई मुलुकले व्यापार संझौता गर्दा त्यस बारेमा नेपाललाई भने औपचारिक रुपमा जानकारी समेत गराएका थिएन ।

नेपालले यस बारे कुटनीतिक पहल नगर्दा ताक्लाकोट सम्बन्ध टुटेको र नेपालको व्यापार सुकेको व्यवसायीहरु बताउँछन् ।ताक्लाकोटबाट दार्चुलासम्म समान ल्याउन न बाटो छ, नत सुरक्षा र भन्सार नै । हिउँदको बेला नाकामा नेपालको उपस्थिति हुदैन । त्यहाँका बासिन्दा हिउँदमा ६ महिना सदरमुकाम बसाइँ सर्छन । त्यही कारण लिपुलेक शून्य हुने गरेको छ । व्यापारलाई पुरानै अवस्थामा फर्काउन दार्चुलाबासी तिकंर सडकको पर्खाइमा छन् ।