☰ open Loading... 17 May 2024|  

प्रजातन्त्र दिवसकाे पूर्व सन्ध्यामा सरसफार्इ
  | ६ फाल्गुन २०७४, आईतवार १३:४६

दाङ । ६८ औँ प्रजातन्त्र दिवसका अबसरमा घोराहीमा सरसफाई गरिएको छ । प्रजातन्त्र दिवस मनाउन गठन भएको मूल समारोह समितिको आयोजना र घोराही उपमहानगरपालिकाको संयोजनमा तुलसीपुर चोक देखी नापी शाखाको कार्यालय सम्म सरसफाई गरिएको हो ।

भोली परेको ६८ औँ प्रजातन्त्र दिवसका अबसरमा दाङमा तीन दिन सम्म बिभिन्न कार्यक्रम गर्ने मूल समारोह समितिले निर्णय गरे बमोजिम नै आज सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा दिवस आयोजक मूल समारोह समितिका संयोजक जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी,उपप्रमुख सिता न्यौपाने सिग्देल, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिका १५ का वडा अध्यक्ष रमेश पाण्डेय सहित अन्य जनप्रतिनिधी, नेपाल प्रहरी, नेपाली सेना, ओमशान्तीमा आबद्ध व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

सरसफाईका क्रममा स्थानियहरुले फोहोरको उचित संकलन र व्यवस्थापन नगरेको पाईएको छ । जथाभावीरुपमा फालिएका फोहोरका कारण बजारको सुन्दरतामा कुरुपता आएको भन्दै नगर प्रमुख चौधरीले आफुले गरेको फोहोरको संकलन सहि ढंगबाट गर्न नागरिकहरुलाई आग्रह गरे ।

प्रजातन्त्र दिवसको अबसरमा भोली बिहान शहिदगेटवाट प्रभातफेरी निकाल्ने र घोराही उपमहानगरपालिकाको कार्यकक्षमा प्रजातन्त्र दिवसको सान्दर्भिकताका बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

भोली बेलुका शहिद गेटमा दिपावली गर्ने र पर्सी विहान रक्त सञ्चार केन्द्रमा रक्तदान गर्ने र प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र कार्यपालिका सदस्य सहितको उपस्थितीमा शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरिने मूल समारोह समितिले जनाएको छ ।