☰ open Loading... 26 April 2024|  

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत
  | १२ फाल्गुन २०७४, शनिबार १८:५३

सुर्खेत । प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेत तोकिएको छ । नाम कर्णाली र राजधानी सुर्खेत राख्ने प्रस्तावमाथि संसदको चौथो बैठकले दुई तिहाइ बहुमतले पारित गरेको हो ।

शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नामकरण प्रस्ताव पेश गरेका थिए । कँडेलको प्रस्तावमाथि सांसद वीरबहादुर बुढा, दिनबन्धु श्रेष्ठ र शोसिला शाहीले समर्थन जनाउँदै प्रदेश नंं ६ को समग्र पहिचान कर्णालीले सम्बोधन गर्ने हुनाले उक्त नाम उपयुक्त भएको बताए ।

कर्णाली प्रदेश नामकारणको पक्षमा ३७ जना सांसदले मत हालेका थिए । यस्तै, विपक्षी दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावलाई सांसद गुलावजंग शाह र गणेशप्रसाद सिंहले समर्थन गरे । तर राप्रपाकी सांसद शोसिला शाहीले असर्थन जनाईन् । राजधानी सुर्खेत राखियोस् भन्ने पक्षमा ३६ मत प्राप्त भएकाले सो प्रस्ताव पारित भएको घोषणा सभामुख राजबहादुर शाहीले गरे ।

३९ सांसदमध्ये शनिवारको बैठकमा सभामुखसहित ३८ जना सांसद् उपस्थित थिए । संसदको अर्को बैठक फागुन १५ गते दिउसो १ बजे बस्नेछ ।