☰ open Loading... 2 May 2024|  

भाेलीकाे संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई ह्वीप जारी
  | १४ फाल्गुन २०७४, सोमबार १९:३१

सुर्खेत । कर्णाली प्रदेशको पाँचौ बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिएको छ । एमाले र माओवादी केन्द्रका सवै सांसदहरुलाई मंगलबार बस्ने बैठकमा उपस्थित हुन ह्वीप जारी गरिएको हो ।

फागुन ४ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनु पर्ने भएकाले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

उनले सोमबार नै भोली बस्ने संसद बैठकमा सरकारको पक्षमा विश्वासको मत प्रस्ताव पेश हुने भएकाले एमालेबाट प्रतिनिधित्व गर्ने सवै सांसदलाई उपस्थित हुन जानकारी गराइसकेको बताए । साथै, सवै एमालेबाट प्रतिनिधित्व गर्ने सांसदलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको शाहले उल्लेख गरे ।

यता, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक सिता नेपालीले पनि सवै सांसद वीरेन्द्रनगरमा रहेकाले भोलीको बैठकमा अनिवार्य उपस्थित हुन जानकारी गराइसकेको बताइन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत पाउन २१ मत ल्याए पुग्छ । तर ४० सांसद रहेको कर्णाली प्रदेश संसदमा एमालेका २० र माओवादीका १३ गरी ३३ सांसद छन् । मंगलबारको संसद बैठकमा पेश हुने उक्त प्रस्ताव भोली नै पारित हुन सक्ने संसद सचिवायले जनाएको छ ।