☰ open Loading... 3 May 2024|  

बिरामीको मृत्युपछि महाकाली अञ्चल अस्पतालमा तनाव
  | २० फाल्गुन २०७४, आईतवार ०८:१६

 कञ्चनपुर ।  महाकाली अञ्चल अस्पतालमा गएराती पेट दुखेर उपचारका लागि आएकी भीमदत्त नगरपालिका (११ भुजेलाकी ४२ वर्षीय कलावती सार्कीको मुत्यु भएपछि लफडा मच्चिएको छ ।  नयाँ पत्रिकामा समाचार छ ।

सार्कीको बिहान अस्पतालको इमरजेन्सी कक्षमै मुत्यु भएपछि आफन्त र स्थानीयले स्वाथ्यकर्मीको लापरवाहीका कारण मुत्यु भएको आरोप लगाएका छन् । मृतक कलावतीका आफन्त रमेश सार्कीले गत आइतबार महाकाली अस्पतालमै कलावतीको पाठेघरको अप्रेसन गरिएको बताए ।

अस्पतालबाट डिस्चार्ज गरिएकी कलावती शनिबार राती एक्कासी बिरामी भएपछि उनको उपचारका लागि अस्पताल ल्याएको उनले बताए । ‘राती घरबाट अस्पताल पुर्याउन पनि एम्बुलेन्स पाईएन, ‘उनले भने, ‘अटो रिक्सामा जेनतेन गरि अस्पताल ल्यायौँ, ईमरजेन्सी शाखाबाट रगत अभाव बतायो, हामीले रगत पनि ल्यायौँ, तर चिकित्सकले अहिले रगत चढाउनु पर्दैन, भोली चढाउँला भन्यो, तर बिहान कलावतीको मुत्यु भयो ।’ चिकित्सक र स्वास्थ्यकर्मीको व्यवहार र लापरवाहीका कारण मृत्यु भएको उनको दावी छ ।

आफन्तले अप्रेसन बिग्रेका कारण पनि मृत्यु भएको आरोप लगाएका छन् भने दोषी चिकित्सक र उचित क्षतिपुर्तीको माग राख्दै बिहानैदेखि ईमरजेन्सी शाखामा धर्ना दिएका छन् । अस्पताल परिसरमा समेत मृतकका आफन्तले प्रर्दशन गरेका छन् । मृतक परिवार र आफन्तले धर्नादिएसंगै शव नउठाएपछि अस्पतालको सेवामा प्रभावित भएको छ । इमरजेन्सीको अन कलमा रहेका डा।हरि कुमार श्रेष्ठले आफुलाई बिहान मात्रै बिरामी आएको जानकारी गराएको बताए ।

उनका अनुसार आफू इमरजेन्सीमा पुग्दासम्म बिरामीको मुत्यु भईसकेको थियो । हृदयघातका कारण महिलाको मुत्यु भएको उनले बताए । ‘बिरामीको अवस्था देखेर हृदयघातकै कारण मुत्यु भएको सिमटन भेटिए, ‘डा। श्रेष्ठले भने, ‘मैले सबै प्रकृया पुर्याएपछि बिहान ५ बजेर २५ मिनेट जाँदा मृत घोषणा गरेँ ।’ मृतकका आफन्त परिवारजनले दोषी उपर कार्बाही र उचित क्षतिपुर्ती नदिन्जेलसम्म शव नउठाउने जिकिर गरेका छन् ।

स्थानीय युवा विक्रम बुढाले अस्पताल प्रशासन र स्वास्थ्यकर्मीको व्यवहारका कारण घटना घटेको बताउँदै, अस्पतालमा घटना रोक्नका लागि स्वास्थ्यकर्मी र अस्पताल प्रशासन जिम्मेवार बन्नुपर्नेमा जोडदिए । घटनाका बारेमा अस्पताल विकास समिति, चिकित्सक र मृतका आफन्तबीच छलफल भईरहेको छ । अस्पतालमा महिलाको मुत्यु भएपछि थप घटना दोहोरिन नदिन स्थानीय प्रशासनले अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरेको छ ।