☰ open Loading... 18 April 2024|  

रोकिएन राधाको आँशु
  | ३ चैत्र २०७४, शनिबार १४:५२

कैलाली । बोक्सीको आरोपमा निर्घात कुटिएकी घोडाघोडी नगरपालिका–५ देवकलियाकी राधा चौधरी आठ दिनपछि आफ्नो गाउँ पुगिन् ।
फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवसको दिन स्थानीय रामबहादुर चौधरी लगायतबाट ६ घण्टासम्म निर्घात कुटपिटमा परेकी राधा चौधरी त्यसको भोलिपल्ट उपचारका लागि धनगढी पुगेकी थिइन् ।

धनगढीस्थित महिला पुनःस्थापना केन्द्रको सेफ हाउसमा बस्दै आएकी राधा चौधरीलाई शुक्रबार देवकलियामा सम्मान गर्ने तथा स्थानियलाई जनचेतनामूलक फिल्म अग्निदहन देखाउँने कार्यक्रम राखिएको थियो ।

‘मान्छे बोक्सी हुन्न कहिल्यैं’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बोक्सी प्रथा विरुद्धको जनचेतना फैलाउन सोही कथामा आधारित फिल्म अग्निदहन देखाउँने कार्यक्रम स्थल साविक कैलालीको रामशिखरझाला–८ देवकलियास्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा दिउँसैदेखि स्थानियहरुको बाक्लो उपस्थिति समेत रह्यो ।

बेलुका ५ बजे औपचारिक कार्यक्रमगरी राती भएपछि अग्निदहन फिल्म देखाउँने कार्यक्रम आयोजकको थियो । समयमै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेसंगै कार्यक्रमस्थल देवकलिया पुगेकी राधा चौधरीको शीर भने माथि उठ्न सकेन् । हजारौंको उपस्थिति रहेको कार्यक्रमको ड्यासमा बसेकी राधा लजाएको डराएको जस्तो देखिएकी थिइन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाल, प्रहरी प्रमुख घिमिरे र बोक्सी प्रथा विरुद्ध जनचेतना अभियानका संयोजक कोविदशरणले संयुक्त रुपमा अभिनन्दन गरेपछि राधालाई केही भनाइ राख्न अनुरोध गरियो ।

माईक समातेर सबैलाई नमस्ते गर्दै नाम मात्र भनेकी राधा चौधरी अरु नबोली रुन थालिन । राधाको भनाइ कैद गर्न सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो तर राधा नबोलेर रुन थालेपछि सबैको आँखा रसायो । सबैले केही बोल्न आग्रह गरेपछि आँशुपुछ्दै बोल्नका लागि उभिएकी राधाको आवाज आउन सकेन् र आँशु समेत रोकिएन ।

कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कुरिति कुसंस्कार रोक्न सबैको भूमिका अहम हुने बताए । धर्म, परम्पराको नाममा विशेष गरेर महिलाहरुमाथि हिंसा गरिंदै आएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले त्यस्ता प्रथा रोक्न समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण रहेको जिकिर गर्नुभयो । कुटपिटको घटना हुँदै गर्दा रोक्नुको सट्टा टुलुटुलु हेरेर बस्ने र ताली पिट्ने, भोलेबाबा र पार्वतीको नाममा ठगी गर्नेलाई समर्थन गर्ने पनि दोषी रहेको प्रजिअ रिजालले बताए ।

दोषीलाई सहयोग गर्ने मतियारहरुलाई न छोड्ने बताउँदै रिजालले पहिचान भएका मतियारहरुलाई पनि कानूनी कठघरामा उभ्याउँने प्रतिबद्धता जनाए ।

बोक्सी आरोपमा राधालाई निर्घात कुटपिट गरेको आरोपमा मुख्य अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सहयोग गर्ने किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रकाश चौधरी, चनकला चौधरी र सितारानी चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्धा दायर गरिसकेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताए ।