सुर्खेत । प्रदेश सरकारले शुरु गरेको कर्णाली रारा पर्यटन वर्ष २०७५ को नीजि क्षेत्रले स्वागत गरेको छ । पर्यटन सम्भावनाको गाथा गाउँदै आएको सरकारले पर्यटन क्षेत्रको विकास लागि राम्रो अभियान शुभारम्भ गरेकोमा नीजि क्षेत्र उत्साहित बनेको हो ।
वर्षौदेखी ओझेलमा रहेको कर्णाली प्रदेशका पर्यटन क्षेत्रको विकासका लागि सरकारले जागरुकता देखाएपछि नीजि क्षेत्रले पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ । यसो त रारा ताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूँजीले मात्रै विकास निर्माणका कामहरु अघि नबढ्ने भन्दै कर्णालीको मुहार फेर्न नीति, योजना र चिन्तन प्रदेश सरकारले लिए पूँजीको जोहो आफै गर्दिने आश्वासन दिइसकेका छन् ।
रारा ताल मात्रै नभई प्रदेशका अन्य दश जिल्लाकै पर्यटन क्षेत्रसम्म पर्यटकहरुलाई पु¥याउन ठोस योजनाविनै प्रदेश सरकारले पर्यटन वर्षको शुरुवात गरेकाले कतै अभियान असफल हुने त हैन भन्ने कतिपयको बुझाई छ ।
कर्णाली प्रदेशमा रहेका पर्यटन स्थलहरुसम्म पुग्न सडक असहजतादेखी बास बस्न प्रयाप्त होटलहरुको प्रवन्ध भने अझै हुन सकेको छैन । तर आन्तरिक तथा बाह्य दुवैखाले पर्यटक भित्राउन प्रदेश सरकारले पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण गर्न योजना ल्याउन सुझाव नेपाल उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीको छ ।
उनले पर्यटनको अथाह सम्भावना बोकेको कर्णाली प्रदेशमा शुरु भएको पर्यटन वर्षले तिनको विकास गर्न सहयोग पुग्ने बताए । ‘विगतका वर्षभन्दा यो वर्ष पक्कै पनि पर्यटकहरुको संख्यामा बढोत्तरी हुन्छ’ शाहीले भने,–‘कम्तीमा सरकारले यहाँ आउने पर्यटकहरुलाई सवै क्षेत्रमा पुग्न सडक र बासको राम्रो प्रवन्ध गर्न सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्छ ।’
२०७५ सालमा मात्रै पाँच लाख आन्तरिक र बाह्य पर्यटन भित्राउने कर्णाली प्रदेश सरकारको लक्ष्य छ । प्रदेश सरकारले मानसरोवर जाने भारतीय तिर्थालुहरुलाई कर्णाली प्रदेशका अन्य पर्यटकिय क्षेत्रहरुमा घुमाउने विशेष प्याकेज ल्याउने तयारीमा छ ।
पर्यटन वर्षको शुभारम्भ गरेर मात्रै नहुने भन्दै सवै पक्षलाई समाहित गरेर बाह्य र आन्तरिक पर्यटन भित्राउन सवै पक्ष एक भएर लाग्नु पर्ने अध्यक्ष शाही बताउँछन् ।
‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारको समन्वयमा कर्णालीका पर्यटन क्षेत्रसम्म पुग्न पर्यटकलाई सहज बनाउन समन्वय गर्न जरुरी छ’ शाहीले भने,–‘पर्यटन वर्षको हामी स्वागत गर्छौ, तर नीजि क्षेत्रलाई पनि यस अभियानमा प्रदेश सरकारले समेट्दा लक्ष्य भेटाउन सहज हुन्छ ।’
हवाई र सडक असहजतालाई सहज गराएर पर्यटकहरुबाट भरपुर फाइदा लिन होटल, मनोरञ्जन, धार्मिक स्थल, पदमार्गलगायत पूर्वाधार विकास गर्नमा प्रदेश सरकारले ठोस गुरुयोजना निर्माण गरेर अघि बढे पर्यटकहरु भित्राउन सहज हुने शाही बताउँछन् ।
यता, गत आर्थिक वर्षमा मात्रै रारा तालमा घुम्न १२३ जना बाह्य र झण्डै १० हजार आन्तरिक पर्यटक पुगेको रारा राष्ट्रिय निकुञ्जका रेञ्जर यज्ञराज रोकायाले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा रारा पुग्ने बाह्य पर्यटकको संख्या २०१ र आन्तरिक झण्डै ११ हजार छन् । ‘आन्तरिक पर्यटकहरुको अभिलेख हामी राख्दैनौं’ रोकायाले भने,‘अघिल्लो वर्षको तुलनामा यो वर्ष आन्तरिक र बाह्य पर्यटकहरुको संख्यामा विस्तारै बढोत्तरी भइरहेको छ ।’