☰ open Loading... 2 May 2024|  

जनताको काममा ढिलासुस्ती नगर्न मुख्यमन्त्री शाहीको निर्देशन
  | ७ बैशाख २०७५, शुक्रबार १२:२२

कालिकाेट । जनतालाई संघियता आफनै शासन भएको अनुभुति हुने गरि काम गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

गृहजिल्ला पुगेका मुख्यमन्त्री शाहीले सदरमुकाम मान्मामा सरकारी कार्यालयका प्रमुखहरुसंगको भेटघाटमा जनताको काममा ढीलासुस्ती नगर्न र खटाईएको कार्यक्षेत्रमा पुगेर काम गर्न निर्देशन दिएका हुन् ।


स्थानीय निकायको निर्वाचन संगै कर्मचारी र जनप्रतिनिधि बिच तालमेलको अभाव देखिएको वताउदै मुख्यमन्त्री शाहीले कर्मचारीसंग रहेको दक्षता र जनप्रतिनिधिसंग रहेको योजनाको समायोजन गरेर मात्रै मुलुक विकासको दिशामा लम्कने बताए ।

उनले कर्मचारी भेटघाटमा कार्यालय प्रमुखहरुले राखेका जिज्ञासाको जवाफ दिदै कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधि बिच देखिएको असमझदारी लगाएतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता गरे ।

विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न प्रदेश सरकार तिव्र गतिमा अगाडि वढेको वताउदै मुख्यमन्त्री शाहीले सरकारको स्प्रीटमा कर्मचारी प्रशासन दौड्नु पर्ने आवश्यकता औंल्याए । उनले कानुनको अभावमा देखिएका समस्या सामाधानका लागि कानुन निर्माणको कामलाई पनि गति दिन प्रदेश सरकार लागिपरेको बताए ।

कार्यक्रममा जिल्लाको शान्तिसुरक्षाको अवस्थाका बिषयमा जानकारी दिदै प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्ला बिकट र कतिपय गाउँमा प्रहरी युनिट समेत नरहेको अबस्थामा शान्ति सुरक्षा कायम गर्न चुनौतीपुर्ण रहेको जानकारी गराए ।

यस्तो अबस्थामा पनि सरकारी कर्मचारीले गाउँगाँउमा पुगेर सेवा दिईरहेको बताउदै प्रमुख जिल्ला अधिकारी गौतमले कर्मचारीको दुख पिडा वुझेर दण्ड र पुरस्कारको व्यवस्था गर्न माग गरेका थिए ।

मुख्यमन्त्री शाहीको उपस्थितीमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि बसेको छ । वैठकमा गएको चैत २३ गतेको असिना पानीले कृषकहरुको अन्नबाली र फलफुलमा पुर्याएको क्षेतीको अवस्थाका विषयमा समिक्षा भएको छ ।

संघीय संसदका सदस्य दुर्गबहादुर रावतको समेत सहभागिता रहेको बैठकमा जिल्लामा असिना पानीले कृषकहरुको ९० प्रतिशत अन्नबाली, फलफुल र तरकारी खेतिमा क्षेति पुगेको प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी गराएका थिए ।

क्षतिको अवस्था हेर्दा आगामी असारमै भोकमरी शुरु हुन सक्नेतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।