☰ open Loading... 1 May 2024|  

चौकुनेका अध्यक्ष शाही बने बालिकाको अभिभावक
  | ६ बैशाख २०७५, बिहीबार २१:४०

सुर्खेत । देशमा राष्ट्रिय भर्ना अभियान चलिरहँदा सुर्खेतको चौकुने गाँउपालिकाका अध्यक्ष धीरबहादुर शाही एक जना बालिकाको अभिभावक बनेका छन् ।

उनले आर्थिक अवस्था दयनीय रहेका चौकुने गाउँपालिका वाड नं ८ मिलनचोकमा घर भएका हर्कबहादुर भाट र तुल्सा भाटकी ६ बर्षकी छोरी रन्जना भाटलाई विद्यालयमा भर्ना गरेका हुन् ।

अध्यक्ष शाहीले बालिकालाई गुटुमा रहेको जिवन ज्योति माध्यमिक विद्यालयमा कक्षा एकमा भर्ना गरिदिएका हुन् । अध्यक्ष शाहीले बालिकाको पढाइ खर्च, स्कुल ड्रेस देखि अतिरिक्त सम्पूर्ण खर्च व्यहोर्ने बताए ।

अध्यक्ष शाहीका अनुसार केहि दिन अघि बसेको कार्यपालिकाको बैठकले हरेक टोलमा भर्ना अभियान टोली जाने निर्णय भए बमोजिम अहिले टोली गाँउमा गएको छ । चौकुने गाँउपालिकाका कोही विद्यार्थीपनि शिक्षा प्राप्त गर्नबाट बञ्चित नहुन भन्ने गाँउपालिकाको उदेश्य रहेको उनको भनाई थियो ।

अध्यक्ष शाहीले कोही बालबालिका छुटेको खण्डमा उनीहरुलाई भर्ना गराईने, आर्थिक समस्या भएको भए आर्थिक सहयोग पनि गर्ने तर लापरवाहीको कारण विद्यालयमा नपठाएको पाईए अभिभावकलाई कारवाही गर्ने जानकारी दिए ।

आवासीय विद्यालय सञ्चालन गरिने
चौकुने गाँउपालिकाले अनाथ र असहाय बालबालिकाका लागि आवासीय विद्यालय खोल्ने तयारी गरेको छ । अध्यक्ष शाहीले अहिले आफूले हरेक विद्यालयलाई आवासीय विद्यालयको रुपमा सञ्चालन गर्न सक्ने बारेमा आवश्यक निर्णय गरेर ल्याउन निर्देशन दिएको बताउँदै नगरमा अनाथ र असहाय बालबालिका कति छन त्यो तथ्यांक पनि संकलन गर्न सुरु गरिएको जनाए ।

यदि चौकुनेले आवासीय विद्यालय सञ्चालनमा ल्याएको खण्डमा अनाथ बालबालिकाको लागि सुर्खेतमै पहिलो आवासीय विद्यालय हुनेछ ।