☰ open Loading... 5 May 2024|  

निःशुल्क शल्यक्रिया शिविर संचालन हुने
  | १८ बैशाख २०७५, मंगलवार १९:०६

सुर्खेत । काँक्रेविहार दैनिक १८ वर्ष प्रवेश गर्न लागेको अवसरमा काँक्रेविहार मिडिया प्रा.लि., काँक्रेविहार दैनिकको आयोजना र सुष्मा कोईराला मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा निःशुल्क शल्यक्रिया शिविर संचालन हुने भएको छ ।

आगामी जेठ ३ गतेदेखि ५ गतेसम्म संचालन हुने शिविरमा शिविरमा आगोले पोलेर शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, खुट्टाको पैताला भित्रतिर फर्किएको, हात खुट्टा काटिएको ठाउँमा पाकेर वा कुनै कारणले पुर्ण शल्यक्रिया गर्नुपर्ने, मांशपेशी खुम्चिएर कुनै अंग चलाउन नमिल्ने समस्याको समाधान गरिने छ ।

यस्तै, विस्फोटनमा परी शरिरको कुनै भागको शल्यक्रिया गर्नुपर्ने, कान तथा नाक चिरिएको, शरिरमा भएका मुसा, कोठी दाग तथा गाँठाहरुको शल्यक्रिया, आगोले पोलेर कपाल गुमेकोसहित जनरल ओपिडी सेवा दिईने काँक्रेविहार मिडिया प्रा. लि. का अध्यक्ष एवम् काँक्रेविहार दैनिकका सम्पादक सुशीलराज शर्माले बताए ।

विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने शिविरमा कुनै बिरामीको पूर्ण शल्यक्रिया गर्नुपर्ने भएमा खान बस्नको निःशुल्क व्यवस्था गरिने पनि शर्माले जानकारी दिए ।

सुष्मा कोईराला मेमोरियल अस्पताल काठमाण्डौको प्राविधिक सहयोग रहेको शिविरमा अस्पतालका उपनिर्देशक डाक्टर सन्तोषबिक्रम भण्डारीसहितको टोलीबाट निःशुल्क सेवा दिईने शर्माले बताए । अहिले नाम दर्ताको काम भइरहेकोले क्षेत्रीय अस्पताल कालागाउँ र काँक्रेविहार दैनिकको कार्यालयमा नाम दर्ता गर्न सकिने काँक्रेविहार मिडिया प्रा.लि. ले जनाएको छ ।