☰ open Loading... 5 May 2024|  

असारमा बजेट, असाेजदेखि कार्यान्वयन : अर्थमन्त्री ज्वाला
  | ११ जेष्ठ २०७५, शुक्रबार २०:३४

प्रदेशको बजेट १५ अर्ब हुने
सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्रालयले निर्धारित मितिमै बजेट प्रस्तुत् गर्ने भएको छ ।

झण्डै १५ अर्ब बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी असार १ गते संसद्मा पेश गर्ने गरी तयारी भइरहेको बताए ।


बजेट निर्माण पूर्व प्रदेश सरकार र स्थानीय तहबीच वीरेन्द्रनगरमा भएको सुझाव संकलन कार्यक्रममा मन्त्री ज्वालाले बजेट संसदमा पेश भएकै दिन अख्तियारी जाने जानकारी दिए ।

‘बिगतमा असोजसम्म पनि बजेट पास नहुने र विकास निर्माण प्रक्रियालाई ढिलो गराउने तथा पुँजीगत बजेट कार्यान्वयनमा समस्या आउने गरेको थियो’ मन्त्री ज्वालाले भने, ‘नयाँ आर्थिक वर्ष सुरु हुनु पूर्व नै बजेट पास गरिसक्ने र संविधानाको प्रावधान अनुसार अख्तियारी दिने तयारीमा छौं ।’

असार १ गते बजेट संसदमा पेश भए पनि कम्तिमा एक साताभित्रै बजेट पारित हुने उनको दावी छ ।

साउन र भदौमा प्रक्रियागत सबै तयारी गर्ने र असोजबाटै निर्माण कार्य शुरु गरेर विकास निर्माणको प्रभावकारी हुने अपेक्षा ज्वालाको छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई बजेट तयारी गर्न सुझाएका मन्त्री ज्वालाले साउन र भदौ महिनामा सबै कागजी प्रक्रियाहरु सके जन अपेक्षाअनुसारका कामहरु सम्पन्न हुने बताए ।

‘स्थानीय तह र प्रदेश सरकारबीच नङ्ग र मासुको जस्तो सम्वन्ध कायम गर्नुपर्छ’ ज्वाला थपे, ‘हामीले यहाँहरुलाई पर्ने समस्या नीति नियम तथा कानुन बनाएर समाधान गर्नेछौं ।

प्रदेश समृद्धिको योजनामा सहकार्य गरौं ।’ उनले हरेक स्थानीय तहले अर्गानिक कृषि क्षेत्र घोषणा गरी कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री ज्वालाले कर्णाली प्रदेशको आन्तरिक राजश्व जम्मा २४ करोड भएको बताए । ‘हामीसँग प्रदेशबाट २४ करोड राजश्व उठ्ने गरेको छ’ मन्त्री ज्वालाले भने, ‘त्यो रकम आधा आधा बाँड्दा १२ करोड हुन्छ र त्यसमध्ये पनि ७९ स्थानीय तहलाई वितरण गर्दा के होला ? अब स्थानीय सरकारले आफैले आफ्नो आन्तरिक स्रोत बलियो बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ ।’

कार्यक्रममा प्रमुख सचिव राम प्रसाद थपलियाले स्थानीय सरकारले पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा अमुल्य धन नामक पाँच क्षेत्र समेटेर बजेट बनाए समृद्धि टाढा नरहेको बताए ।

कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, रुकुम र सल्यानका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रमको अध्यक्षता आर्थिक मामिला मन्त्रालयका सचिव ढुण्डिराज निरौलाले गरेका थिए ।