☰ open Loading... 19 April 2024|  

ट्राफिकको प्रादेशीक कार्यालय छिन्चुमा
  | २२ श्रावण २०७५, मंगलवार ०९:२८

सुर्खेत । कर्णाली प्रदेश स्तरिय ट्राफिक कार्यालय छिन्चुमा स्थापना हुने भएको छ । यसअघि साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरमा रहेको कार्यालय खारेज भएपछि प्रादेशीक ट्राफिक कार्यालय सुर्खेतको छिन्चुमा स्थापना हुन लागेको हो ।


सुर्खेतमा रहने प्रादेशीक ट्राफिक कार्यालयका कर्मचारीहरु यसअघि नै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आइसकेका छन् । सुर्खेत आइपुगेका ट्राफिक प्रहरीहरुमा सई दुई जना, असई एक, हवल्दार चार र जवान ८ जना छन् ।

तर कर्णाली प्रादेश ट्राफिक कार्यालय एसपीको कमाण्डमा रहनेछ । प्रदेश ७ बाट कर्णालीमा सरुवा भएका एसपी जनकराज पाण्डे सुर्खेत आइपुगेका छैनन् । कार्यालयमा आउनु पर्ने डिएसपी र प्रहरी निरीक्षकहरु आइ नपुगेको स्रोतको भनाई छ ।

‘साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय खारेज भएपछि केही कर्मचारीहरु सुर्खेत आइपुगेका छन्’ कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी सुरेशविक्रम शाहले भने, ‘कार्यालय व्यवस्थापन भइरहेकाले उहाँहरु (एसपी, डिएसपी र थप कर्मचारी) आउन ढिला भएको हो ।’

आएका कर्मचारीहरुलाई व्यवस्थापन गर्न गाह्रो भएकाले कार्यालयको टुंगो नलागुञ्जेल ढिलाइ भएको डिआईजी शाह बताउँछन् । भेरीगंगा नगरपालिकाको छिन्चुमा सोमबार मात्रै १० कोठे भवनको टुंगो लागेको छ । भदौ १ गतेदेखी छिन्चुमै कार्यालय स्थापना गरेर सञ्चालनमा ल्याउने तयारीमा रहेको डिआईजी शाहले जानकारी दिए ।

सुर्खेतमा आउने प्रहरीका नयाँ संरचनाका लागि जग्गा लिएरै कार्यालय स्थापना गर्नुपर्ने भएकाले पूर्ण रुपमा कार्यालय सञ्चालनमा ढिलाई हुने देखिएको छ । ‘तत्कालका लागि वीरेन्द्रनगरमै प्रादेशीक ट्राफिक कार्यालय स्थापना गर्ने सोचमा थियौं’ डिआईजी शाहले भने, ‘ट्राफिक कार्यालय छिन्चुमै राख्न यसअघि नै प्रतिवेदन तयार गरिएकाले स्थापना पनि त्यहीँ गर्न लागेकाले ढिलाई भएको हो ।’

एक प्रहरी अधिकृतका अनुसार प्रहरीका आधा दर्जन बढी कार्यालय सुर्खेतमा स्थापना गर्न जग्गाको अभाव खड्कीएको बताए । ‘प्रादेशीक ट्राफिक कार्यालय नै स्थापना गर्न सकस भयो’ ति अधिकृतले भने, ‘अझै आधा दर्जन कार्यालयहरु कहाँ कसरी स्थापना गर्ने विषयमा अन्यौलता छ ।’

प्रदेशीक संरचनाअनुसार प्रहरीका साविकको मध्यपश्चिमाञ्चल कार्यालय अन्तरगत बाँकेमा रहेका केही र नयाँ कार्यालयहरु सुर्खेत आउने क्रममा छन् । छिन्चुमा ट्राफिक कार्यालय स्थापना भएपछि कर्णालीमा हुने सडक दुर्घटना न्युनिकरणमा हुनेमा नागरिकहरु आशावादी छन् ।