☰ open Loading... 17 May 2024|  

भेरी बबई डाइभर्सन आयोजना : रिक्सजोन कट्दा ड्यामको प्रक्रिया शुरु
  | ३ भाद्र २०७५, आईतवार १६:११

सुशील खड्का
सुर्खेत । 
सुर्खेतमा निर्माणाधिन भेरी बबई डाइभर्सन आयोजनाको रिक्सजोन (खतरा) क्षेत्र कटेसंगै अन्य कामको प्रक्रिया अघि बढेको छ । सुर्खेतको हात्तीखालबाट शुरु भएको सुरुङ निर्माणको ‘तोली खोला’ लाई जोखिमयुक्त क्षेत्र मानिएको थियो । तर त्यो क्षेत्र टनेल वोरिङ मेशीन (टिविएम) ले पारगरेसंगै आयोजनाको विद्युतगृह र चिप्लेस्थित भेरी नदीमा ड्याम निर्माण प्रक्रिया अघि बढाउन लागिएको हो ।


आयोजना सफल हुने देखिएपछि विद्युतगृह र भेरीमा हेड निर्माणका लागि पनि ठेक्का प्रक्रिया सुरु भएको आयोजनाका डिभिजनल हाइड्रोजियोलोजिष्ट हरि खनालले जानकारी दिए । कागजी र डिजाइन तयार गरिसकेको बताएका खनालले दुइ महिनामै विद्युतगृह र हेड निर्माणका लागि ठेक्का आह्वान भइसक्ने उल्लेख गरे ।

आयोजना ढिलाइ हुने संकेत

यता, भेरी बबई डाइभर्सन आयोजना शुरु भएदेखी काम गरिरहेका आयोजना निर्देशक शिवकुमार बस्नेतको सरुवा भएको छ । आयोजनाका हरेक अवरोहलाई व्यवस्थापन गरिरहेका बस्नेतको सरुवा भएपछि समयमै निर्माण सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ ।

आयोजना निर्देशक बस्नेतसंगै डिभिजनल इन्जिनियर रुक्मागद खनाल र डिभिजनल हाइड्रोजियोलोजिष्ट अजयराज अधिकारीको समेत सरुवा भएको छ । आयोजना स्रोतका अनुसार बस्नेतको ठाउँमा संजिप बराल आउन लागेका छन् ।

तर अन्य दुइ डिभिजनल इन्जिनियर र डिभिजनल हाइड्रोजियोलोजिष्टमा को आउँदैछन् भन्ने थाहा नभएको आयोजना स्रोतले जनायो ।

१२ किलोमिटर लामो सुरुङ खन्न सुरु गरेयता ९ महिनामै शनिबारसम्म ७ दशमलव ३५० किलाेमिटर खनिएको छ । तोली खोलादेखि सुरुङसम्मको दुरी (गहिराई) २ सय १० मिटर मात्र छ । त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भए आयोजना असफल हुने अनुमान गरिएको थियो । टिबिएमले उक्त भाग पार गरेपछि अनुमान गरिएजस्तो जोखिम देखिएन ।

त्यसपछि सुरुङ निर्माण तीव्र पारिएको आयोजनाका हाइड्रोजियोलोजिष्ट हरि खनालले बताए । ‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि गइसकेको छ,’ खनालले भने, ‘अब सुरुङ निर्माणको काम सम्झौता मितिभन्दा अगाडि नै सकिन्छ ।’ तोलीखोला आसपासको क्षेत्र सुरुङको सबैभन्दा जोखिमपूर्ण भूगोल मानिएको थियो ।

त्यही भएर एक किलोमिटर सुरुङ खन्न करिब ३ महिना लागेको खनालले बताए । मानवरहित मेशिनले दैनिक औसतमा ४० मिटर सुरुङ खन्ने गरेको थियो । तर उक्त भागमा भने दैनिक १० र ११ मिटर मात्र मेशीनले सुरुङ खन्दै आएको थियो ।

सन् २०१३ बाटै निर्माण सुरु भइसक्नुपर्ने आयोजना विरोधका कारण ढिलाई शुरु भएको हो । दुई वर्षपछि २०१५ जुलाई ४ मा बल्ल निर्माण कम्पनीसँगको सम्झौताले अन्तिम रूप लिएपनि एक वर्षसम्म सुरुङ खन्ने काम शुरु भएन् । चीनको ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड’ (कोभेक) ले आयोजना निर्माण गरिरहेको छ । यो आयोजना २०२० सम्म सक्ने लक्ष्य छ ।

आयोजनाअन्तर्गत बबई नदी नजिकको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्म १२ किलोमिटर सुरुङ खनेर भेरीको पानी बबईमा खसालिनेछ । यसबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ ।

यही पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड रुपैयाँ छ । यसमध्ये सुरुङ निर्माणमा मात्रै १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।