☰ open Loading... 2 May 2024|  

स्थानीय तहको वेथिति : भत्तामै १३ लाख स्वाहा
  | १४ भाद्र २०७५, बिहीबार १६:१५

पश्चिमनेपाल सम्वाददाता
दैलेख । दैलेखको आठविस नगरपालिकाले गत वर्ष अनुगमनको नाममा १३ लाख १४ हजार रुपैँया खर्च गरेको छ । योजना अनुगमनमा वर्षदिनभित्र यति धेरै रकम खर्च गरेको हो ।

नगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरु तथा कर्मचारीहरुले अनुगमनमा १३ लाख १४ हजार रुपैँया खर्चेका हुन् । गुणस्तरिय अनुगमन नगरिकनै भत्तामा धेरै रकम खर्चेको भनेर स्थानीयहरुले विरोध गरेका छन् । नाम मात्रैको अनुगमन, उपलब्धी शुल्य तर, भत्ता यति धेरै खर्च भएको स्थानीय यूवा अगुवा अर्जुन शाहीले गुनासो गरे ।

‘नगरका योजनाहरु अहिले कहाँ छन्, खोज्नै गाह्रो छ ।’ स्थानीय युवा अगुवा शाहीले भने, भत्ता दामाशाही रुपमा लिएर मिलोमत्तोमै अनियमितता भयो ।’

आठविस नगरपालिका लेखा शाखाका अनुसार यो वर्ष योजना अनुगमन लगायतका कार्यमा १३ लाख १४ हजार रुपैँया भत्ता जनप्रतिनिधि लगायतले बुँझेका हुन् । अनुगमनको लिष्ट र दिन अनुसार भत्ता बुझाईएको लेखा शाखाले जनाएको छ ।

आफुले कति रकम भत्ता बुझे भनेर ठ्याकै एकिन नभएपनि ८५ हजारसम्म बुझेको हुनसक्ने नगर प्रमुख खड्कराज उपाध्यायले बताए । ‘योजना अनुगमन लगायतका विषयमा आफुलाई चित्त बुझेको छैन् ।’ नगर प्रमुख उपाध्यायले भने, यो वर्ष सवै सुधार गरेर लैजान्छु ।’

अनुगमन प्रभावकारी नगरिकनै भत्ता बापतको रकम बुझेर खर्च गरेको स्थानीय बताउँछन् । दिगो विकास र प्रभावकारी अनुगमनका लागि पटक पटक आवाज उठाउँदा समेत सुनुवाई नभएको स्थानीय यूवा अगुवा शाहीले बताए ।

त्यस्तै लेखा शाखाका आएर आठविस नगर पालिका –८ का वडाअध्यक्षले मोटरसाईकल सर्भिसका गरे वापत ३५ हजारको विल पेश रोकिएको छ । भुक्तानीका लागि विल पेश गरिएपनि फर्जुल खर्च विलमा देखीएकाले रोकिएको जनाईएको छ ।

नगरमा मनपरि विलभरपाई बनाएर बढी रकम पेश धेरै आउने गरेको जनाईएको छ । गुणस्तरिय विकासभदा पनि कार्यकर्ता पोस्नका लागि योजनाहरु दिने भुक्तानी परिपाटी भएको कर्मचारी बताउँछन् ।