☰ open Loading... 2 May 2024|  

करोडौं खर्चेको सडकमा गाडी गुड्नै सकस
  | १७ भाद्र २०७५, आईतवार १५:५५

दैलेख । ग्रामीण पहुँच कार्यक्रम मार्फत विभिन्न चरणमा देशीगाडे–महावु सडकमा मात्रै ९ वर्षयता ३७ किलोमिटर सडक ट्रयाक खोल्नका लागि २३ करोड रकम खचिएको छ । दुई वर्षयता ग्रावेल भनेर त्यही बाटोमा ३ करोड र गितञ्जली जोभी जेभीले २ करोड २६ लाखमा ठेक्का लिई महावुतिरको खण्डको ट्याक खोल्यो ।

प्रत्येक वर्ष १ करोड बढी रकम यही सडकममै मर्मतसम्भार भनेर खर्च गर्दथ्यो । स्थानीय सरकार भएपछि त्यो क्रम रोकियो । स्थानीय सरकारले नै मर्मत सम्भार गर्छन् । तर, पनि यो सडकको हविगत उस्तै छ । टालटुले काम हुँदा गुणस्तर हुन सकेको छैन् । अहिले पनि अवस्था उस्तै छ । गाडी गुड्नै सकस छ यो सडकमा ।


फेरी यहि महावु सडक खण्डलाई लक्षित गरेर नयाँ नामाकरण गर्दै नेपाल सरकारले ०७५÷०७६को बजेट भाषणमा अर्थमन्त्रीले रुपैडिया नेपालगंज — सुर्खेत – दैलेखबजार –महावुलेक – गाल्जे –भात्तडी रतडा –नाग्मा –गमगडी हुँदै तिब्वतको सिमाना नाक्चे नाग्ला पुग्ने सडक सम्भावना अध्यायन तथा निर्माणका लागि १० करोड बजेट बिनियोजन गरेका छन् ।

यो सडकमा करोडौं रकम खर्चिएपनि गाडी गुड्नै सकस हुन्छ । वर्षातमा त प्राय ठप्प हुन्छ । गएका गाडीहरु पनि पहिरो हिलोले आधा बाटोमै अड्किन्छन् । कालिकोटको दक्षिण, पूर्वका स्थानीहरु आवागमन गर्न निकै छिटो हुने यो सडक गुणस्तरको काम नहुँदा स्थानीयहरु हैरानी भएका हुन् ।

भत्केको सडक, पहिरो नबनाउँदा यात्रुलाई दुःख हुने गरेको दैलेख उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लक्षुमन श्रेष्ठले बताए । ‘यति धेरै रकम खर्चेर बनाईएको सडकको अवस्था बेहाल छ ।’ पूर्व अध्यक्ष श्रेष्ठले भने, निकै महत्व बोकेको यो सडक झन जिर्ण हुँदा दैलेखबजारको भविष्य समेत अन्यौलमा रहेको छ ।’

दैलेखमुकामदेखी महावु (कालिकोट सिमाना) सम्म ४६ किलोमिटर सडकमा गाडी सञ्चालनमा दुई वर्षअघि ल्याईएको हो । १६ वर्षअघिबाट ¥याप –१,२ र ३ कार्यक्रमले यस सडकमा कामदार लगाएर खन्न सुरु गरेको थियो ।

सडकभन्दा पैदल नै छिटो र भरपर्दो रहेको महावु सडक खण्ड अन्र्तगत भवानीका स्थानीय भिमबहादुर बोगटीले बताए । ‘मान्छे हिड्न गाह्रो सडक छ ।’ स्थानीय बोगटीले भने, गाडी हिड्ने कुरै भएन् ।’ यहाँ काम गर्ने ठेकेदारहरु माटो उधिनेरै योजनाको पैसा सक्ने गरेकाले पनि काम राम्रो हुन नसकेको स्थानीयको भनाई छ ।

ग्रामीण पहुँच कार्यक्रम मार्फत ६ वर्षअघि निर्माण गरिएको देशीगाडेदेखी ओखरवाससम्मको सडक तत्कालिन जिल्ला विकास समितिलाई हस्तान्तण गरेको थियो । त्यसयता वर्षपिच्छे ठेकेदार र उपभोक्ता समिति मार्फत गरिएको काम नामको मात्रै भएकाले सडक लथालिङ्ग भएको स्थानीयको बुझाई छ ।

महावु सडक पुगेपछि गाडी चढेर घर जाने सपना बोकेका कालिकोट र सिमा जोडिएका दैलेखका स्थानीयहरु वर्षासुरु भएसंगै समाप्त हुने गर्दछ । अहिले यो सडक खण्डको महावु नजिक ठुलो पहिरो गएको छ ।

पहिरोले ४ दिनदेखी ३२ जिप फसेका छन् । पहिरो पछाउन महावु गाउँपालिकाले पठाएको डोजरले काम गर्न नसकेर फर्किएको छ । ठुलो डोजर पठाउने तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । मेशिन गए २ दिनमै पहिरो हटाईने जनाईएको छ ।

नारायण नगरपालिको डोजर लगायतका ३ वटा डोजरले अहिले काम गरेको भनिएता पनि एउटा डोजर सडकमा रहेको छ । त्यो डोजरले वर्षातका कारण कामै गर्न सकेको छैन् ।

ठुलो रकम एकै पटक छुटाउन नसक्दा सडकको सडकको गुणस्तर आउन नसकेको महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । ‘यो वर्ष महावु जानको लागि सडक मर्मतमै ८ लाख खर्च गरियो ।’ महावु गाउँपालिकाका अध्यक्ष शाहीले भने, सडक खण्डको एरिया, नारायण नगरपालिका र नौमुले गाउँपालिकाको भयो मैले मर्मत गरिरहेको छु ।’

त्यस्तै नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले सवैलाई सहज होस्भनेर डोजर पठाएको बताए । सुर्खेत–जुम्ला २ सय ३६ किलोमिटर रहेको छ । महावु भएर कालिकोटको पात्मघाट (कर्णाली राजमार्ग) हुँदै मुगु र जुम्ला जोडिए हालको कर्णाली राजमार्गभन्दा ४८ किलोमिटर छोटो पर्ने ईन्जिनियरहरुले अध्यायन गरेका छन् ।