☰ open Loading... 26 April 2024|  

शे–फोक्सुन्डोमा १३० हिउँचितुवा
  | २७ भाद्र २०७५, बुधबार १३:१८

जाजरकोट । डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो ।

विश्व वन्यजन्तु कोष, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख १३ गतेदेखि गणना शुरु गरेको हो । निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार सो अध्ययन टोलीले तीन महिना लगाएर हिउँचितुवाको गणना गरेको हो ।

क्यामरा ट्र्यापिङ तथा दोहोरो गणना विधिद्वारा हिउँचितुवासँगै आहारा प्रजातिको रूपमा रहेको निल भेडा (नावर)को समेत गणना गरिएको हो ।

शेरेन श्रेष्ठ, समुन्द्र लिम्बू र छिरिङ लामा रहेको प्राविधिक अध्ययन टोलीले हिउँचितुवा र नावर पाइने विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन गरेको उप्रेतीले जानकारी दिए । टोलीले अध्ययन प्रतिवेदन तयार पारी काठमाडौँमा सार्वजनिक गर्ने बताइएको छ ।

निकुञ्जको प्रतिवेदनअनुसार शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा हाल १३० को सङ्ख्यामा हिउँचितुवा रहेका छन् । अध्ययन टोलीका सदस्य छिरिङ लामाका अनुसार टोलीले पुस मसान्तभित्रमा काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्नेछ ।

शे–फोक्सुण्डोमा हिउँचितुवा, कस्तुरी, मृगलगायत वन्यजन्तु, ३२ प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातिका चरा, २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीव तथा ४१७ प्रजातिका वनस्पति पाइने निकुञ्जले जनाएको छ ।