☰ open Loading... 20 April 2024|  

सुर्खेतमा बालुवा र गिट्टी नखुल्दा विकासे काम ठप्प
  | १४ आश्विन २०७५, आईतवार १५:३३

सुर्खेत । सुर्खेतमा बालुवा र गिट्टी समयमै नखुल्दा विकासे काम प्रभावित भएकाे छ । निर्माण सामग्री अभाव भएका कारण कर्णाली प्रदेशको राजधानीमै निर्माणाधीन चार लेन सडक निर्माण कार्य समेत राेकिएकाे छ । वीरेन्द्रनगर नगरपालिकाले गत असारमा खोलाबाट गिट्टी, बालुवा उत्खनन् गर्न रोक लगाएपछि वीरेन्द्रनगरमा निर्माण कार्य प्रभावित भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाले असोजको मध्य हुँदा समेत ठेक्का नखुलाउँदा सडकमा पर्ने ४० करोड बजेट बराबरका ५ वटा पुल निर्माण कार्य प्रभावित भएको स्वच्छन्द श्याम एण्ड शंकर तथा आशिष श्याम एण्ड शंकर निर्माण कम्पनीका सञ्चादक पदम खड्काले जानकारी दिए ।

‘हामीलाई जम्मा ३ वर्षको ठेक्का दिइन्छ,’ उनले भने, ‘वर्षमा ३ महिना हामीलाई गिट्टी बालुवा प्रयोग गर्न बन्देज हुन्छ । हरेक वर्ष कम्तिमा पनि हामीलाई चाडपर्वका लागि २ महिना र नगरपालिकाको बन्देज ३ महिना गरेर ५ महिना काम गर्न नसक्ने स्थिति कायम भएको छ ।’

सरकारले ३ वर्षको ठेक्कामा थप १५ महिनाको म्याद थप गर्नुपर्ने वा बाह्रै महिना निर्माण सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनले माग गरे । ‘हामीलाई कि सरकारले बाह्रै महिना खोलाबाट ल्याइने कच्चा पदार्थ प्रयोग गर्न, उत्खनन् गर्न दिनुपर्छ,’ उनले भने, ‘बरु त्यसका लागि हामी राज्यलाई अतिरिक्त कर तिर्न पनि तयार छौं । तर, हाम्रो निर्माण कार्यलाई प्रभावित हुने गरी नीति तय गर्दा हामी निर्माण व्यवसायीहरूलाई ठूलो मर्का परेको छ ।’

व्यवसायी खड्काले चार लेन सडकखण्ड अन्तर्गत मुलपानीदेखि वाङ्गेसिमलसम्मको दुइ हजार दुइ सय मिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएका छन् । ‘सडक निर्माणका लागि मैले निर्माण सामग्री सहज रुपमा पाउन सकेको छैन,’ दुखेसो पोख्दै व्यवसायी खड्काले भने, ‘खोलाबाट ल्याउँदा बालुवाको प्रतिघनमिटर ३ हजार पर्छ भने अहिले बजारमा खरिद गर्दा प्रतिघनमिटर ६ हजार रुपैयाँ खर्च भइरहेको छ । यसले हामीलाई मार परेको छ ।’

उनले गत असार मसान्तमै निर्माण कार्य सकिसक्नुपर्ने सञ्चय कोषदेखि मुलपानी चोकसम्मको ३२ सय मिटर सडकलाई कालोपत्रे गर्न सकेका छैनन् । कालोपत्रे गर्न चाहँदा–चाहँदै पनि राज्यले ढल व्यवस्थापन गर्न नसक्दा काम गर्न असहज भएको र तत्काल ढलको समस्या समाधान गर्न सम्बन्धित निकायलाई पत्र पठाइसकेको उनले बताए ।

‘तर, कतैबाट समस्याको समाधानको पहल हुन सकेको छैन,’ उनले भने, ‘सडकमा कालोपत्रे गर्नु मात्रै नभएर आफू सुर्खेतकै वासिन्दा भएका कारण म राम्रो काम गर्न चाहन्छु । तर, काम गर्ने वातावरण राज्यले मिलाउन सकेको छैेन ।’

निर्माण व्यवसायी पदम खड्काले आफूले आरनटुंडामा जम्मा गरेको बालुवालाई समेत नगरपालिकाले प्रयोग गर्न नदिएको बताए । ‘अन्य पहुँच भएकाले अन्यत्रबाट बालुवा ल्याएर काम गरिरहेका छन्,’ उनले भने, ‘तर, हामी पहुँच नभएकालाई जहिले पनि काम गर्न समस्या आइरहेको छ । हाम्रो कुरा कसले सुन्ने ?’ मिडिया, समाज सबैले ठेकेदारले समयमै काम गर्न नसकेको भनेर भन्ने गरेको बताउँदै उनले आफूहरूको समस्या कसैले नबुझेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले नगरपालिकाले १–२ दिनभित्रै नगरपालिकाले कर उठाउने गरी खोलामा रहेका बालुवा उत्खननका लागि अनुमति दिने जानकारी दिए ।

‘हामीले कात्तिक मसान्तसम्मका लागि अमानतमै भएपनि नगरपालिकाले कर उठाउने गरी खोलामा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका छौं । १–२ दिनमा त्यो कार्यान्वयनमा जानेछ,’ उनले भने, ‘कात्तिक मसान्तसम्मका लागि यो कार्य हुनेछ भने त्यहीँ बीचमा ठेक्का पनि खुलाइने छ ।’