☰ open Loading... 26 April 2024|  

कर्णाली प्रदेश सभाकाे पहिलाे बैठक असाेज २३ गते बस्ने
  | १५ आश्विन २०७५, सोमबार १७:२९

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आगामी असोज २३ गते दिउँसो १ बजे बस्ने गरी मिति तय भएकाे छ । सरकारले प्रदेशसभालाई पर्याप्त काम दिन नसक्दा संसद बैठक गत साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको थियाे ।

 कर्णाली प्रदेश सभाका निमित्त सचिव दिनेश भट्टका अनुसार कर्णाली प्रदेश सभाले यसअघि जम्मा २० वटा विधेयकमध्ये १३ वटा विधेयक पारित गरिसकेको छ । ती १३ वटै विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरी ऐन बनिसकेको छ ।

‘अन्य ५ वटा विधेयक समितिमा दफावार छलफलका लागि गएका छन् भने दुईवटा विधेयक संसदमा टेबल हुन बाँकी छ,’ निमित्त सचिव भट्टले भने, ‘अब असोज २३ गतेदेखि बस्ने संसद बैठकमा ती दुई विधेयक टेबुल हुनेछन् ।’

उनका अनुसार हाल सामाजिक विकास समितिमा २ विधेयक छलफलका लागि गएका छन । तीमध्ये समितिले कर्णाली प्रदेश सहकारी विधेयक- २०७५ माथि छलफल सम्पन्न गरिसकेको छ भने सामाजिक संघ-संस्था सञ्चालन सम्बन्धी विधेयक पनि सोही समितिमा रहेको छ ।

त्यस्तै संसदको विधायन समितिमा विभिन्न ३ वटा विधेयक दफावार छलफलका लागि गएका छन् । भट्टका अनुसार जिल्ला सभा सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक २०७५, गाउँ तथा नगरसभा सञ्चालन गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उक्त समितिमा रहेका छन् ।

कर्णाली प्रदेश सभाको बैठक यसअघि सिँचाइ डिभिजन कार्यालयको सभाहलमा बस्दै आएको भएपनि आगामी असोज २३ गते बस्ने बैठक भने संसदको आफ्नै भवनमा बस्ने स्म्भावना रहेको प्रदेश सभामुख राजबहादुर शाहीले बताए ।

‘हामीले अबको बैठक नयाँ भवनमा बस्ने गरी तयारी गर्न निर्माणकर्तालाई निर्देशन दिएका छौं,’ सभामुख शाहीले भने, ‘त्यसका लागि सिँचाइ डिभिजनमा रहेको साउन्ड सिष्टमलाई नयाँ भवनमा जोडेर भएपनि बैठक बसाल्ने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।’

यद्यपि अर्को बैठक नयाँ भवनमा नै बस्ने भन्ने कुराको टुंगो भने नलागेको उनको भनाइ छ । ‘हामी चाँडोभन्दा चाँडो नयाँ भवनमा बैठक शुरू गर्नआतुर छौं,’ सभामुख शाहीले भने, ‘प्राविधिक समस्या नआएको खण्डमा असोज २३ गते बस्ने बैठक साबिकको शैक्षिक तालिम केन्द्र अर्थात् नयाँ संसद भवनमै हामी सुचारु गर्नेछौं ।’

सभामुख शाहीले असोज २३ गते बस्ने बैठकका लागि कार्यसूची तय नभएको बताए । ‘हामी असोज २२ गते संसदको कार्यव्यवस्था परामर्श समितिको बठक बोलाएका छौं,’ सभामुख शाहीले भने, ‘सोही बैठकले कार्यसूची तय गर्नेछ ।’

संसदको नयाँ भवन पुर्ननिर्माण कार्य सम्पन्न हुनै लाग्दा संसद भवन परिसरलाई सजाउन थालिएको छ । सभाहलतर्फ जाने बाटोको दुवैतिर फूल रोप्ने कार्यको शुरूवात भएको छ । हलमा कुर्सी व्यवस्थापन गर्ने, बत्ती मिलाउने जस्ता कामहरू भइरहेका छन् ।