सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाका स्कुल गएका ३ बालिका चार दिनदेखि घर फर्केका छैनन् । गाउँपालिका ५ आलीमा पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरू ४ दिनदेखि हालसम्म अज्ञात अवस्थामा रहेका छन् ।
साविक खानिखोला गाउँ विकास समिति ९ खान्मा हाल सिम्ता गाउँपालिका ९ खानिखोला स्थायी घर भएका ती बालिकाहरु गत पुस १० गते मंगलबारदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले जनाएको छ ।
खानीखोलाका ९ का १४ वर्षीया बालिका निशा सिंह ठकुरी सोही ठाउँकी एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री रहेका छन् । निशाकी आमा भगवती सिंहले र गत पौष १० गते दिउँसो १ बजे हाफ टाइमको समयमा कापी बिर्सियो भनेर घर आएको र फेरि स्कुल गएकी छोरीको हालसम्म अत्तोपत्तो नभएको बताइन् ।
उनीसँगै यमुना खत्री र रिसिमाका २ बहिनी पनि हाफ टाइममा निशाको घर आएको र फेरि स्कुल गएदेखि नफर्किएको उनको भनाई छ । छोरी बेलुकी घर नआएपछिआफन्तहरूको घरमा सोध्दा नभेटिएपछि सोही दिन राती प्रहरीचौकी आलीमा खबर गर्दा समेत प्रहरीले वेवास्ता गरेको भगवतीले गुनासो गरिन् ।
स्कुल पढाएका छोरीहरू एकाएक यसरी गायव हुँदा अनौठो र अचम्म लागेको यमुना खत्रीका आमा दीपा खत्रीले बताइन् । उनका अनुसार वुटवल फुपुको घर जाने भन्दै स्थानीय सल्ली बजारमा गाडीचालकहरूसँग उनीहरूले कुरा गरेको सुन्नमा आएको बताइन् ।
एक गाडी चालकले सल्ली वजारदेखि मेहलकुना सम्म उनीहरूलाई लिएर बेलुकी रात परेपछि आफ्नै घरमा राखेको र उनीहरू बिहानै कसैलाई थाहा नदिएर हिडेको बताएका छन् । हाल चालकलाई समेत इलाका प्रहरी कार्यलय छिन्चुमा राखेर सोधपुछ गरिएको छ ।