☰ open Loading... 21 November 2024|  

सरकार गलत मार्गमा हिड्दा सही मार्गमा हिडाउन कांग्रेस सडकमा अायाे : थानी
  | २१ माघ २०७५, सोमबार १९:१८

सुर्खेत । सरकारले लिएको गलत बाटोलाई सही मार्गमा ल्याउन नेपाली कांग्रेस आन्दोलनमा उत्रिन परेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले बताएका छन् । सरकार विरुद्ध नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको विरोध सभामा बोल्दै थानीले नेपाली कांग्रेसले सडक समात्दैन, नेपाली कांग्रेसले सडक समात्यो भने कसैलाई उम्किन नदिने चेतावनी समेत दिएका छन् ।


मुलुकमा हत्या, हिंसा, भ्रष्टाचारको सीमा नाघेको, अपराधीहरुलाई कारबाही गर्नुको साटो पुरस्कृत गरेको, जनता असुरक्षित भएको भन्दै पूर्व मन्त्रीसमेत रहेका नेता थानीले बरु मन्त्री, नेता र राष्ट्रपतिलाई विलासी बनाउँदै लगेको आरोप लगाए ।

संघीय सरकारमात्र होइन प्रदेश सरकार पनि भ्रष्टाचारमा डुबेको थानीले उल्लेख गरे । बजेटहुँदा पनि काम गर्न नसक्दा अहिले प्रदेश सरकारमा अनुभवहिनहरुको जमात भएको थानीले बताए । ठूलो त्यागबाट सुर्खेत कर्णाली प्रदेशको राजधानी भएको तर अहिले एक बर्षको अवधिमा विकासको नाममा एउटा सिन्कोसमेत भाँच्न नसकेको थानीको जिकिर थियो ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवराज जोशीले नेकपाले लोकतान्त्रिक पद्दति नै मास्न लागेकोतर्फ चिन्ता व्यक्त गरे । कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य दीनवन्धु श्रेष्ठले कम्युनिष्टहरु बनाउन नजान्ने, ध्वंशमात्रै गर्न सक्ने भएको बताए । उनले प्रदेशको समग्र विकासका लागि प्रदेश सरकार पनि गम्भीर हुन नसकेको भन्दै कामै गर्न नसकेर बजेट फ्रिज गइरहेको उल्लेख गरे ।

दुई तिहाईको दम्भमा सरकारका गतिविधि गलत बाटोबाट अगाडि बढिरहेको भन्दै नेपाली कांग्रेसले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोधसभा गरेको हो । सरकारले भ्रष्टाचार र बलात्कारीलाई संरक्षण गरेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् ।