☰ open Loading... 26 April 2024|  

सल्यानका ‘डिपिङ ट्यांक’ प्रयोगविहीन
  | १४ जेष्ठ २०७६, मंगलवार १८:३५

सल्यान : जिल्लाका विभिन्न स्थानमा पशुजन्य उपचारका लागि निर्माण गरिएका ‘डिपिङ ट्यांक’ लामो समयदेखि प्रयोगविहीन भएका छन्। साविकको जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा निर्माण गरेका डिपिङ ट्यांक प्रयोगविहीन बन्दै गएका हुन।

खसी, बोका लगायतका पशुमा जुम्म्रा,उपियाँ लगायतका अन्य किरा परेमा औषधि डिपिङ ट्यांकमा राखी उपचार गर्ने गरिन्छ। निर्माण गरिएका डिपिङ ट्यांक किसानहरूले प्रयोग गर्न नजान्दा अलपत्र परेको पशु सेवा प्राविधिको भनाई छ। ट्यांकी संरक्षणमा कसैले चासो नदिँदा सरकारी रकमको दुरुपयोग भएको शारदा नगरपालिका कजेरीका दुर्गाबहादुर बुढाथोकीले बताए।

‘सुरुमा पशुमा कुनै किराको प्रकोप हुँदा यो विधि ज्यादै भरपर्दो थियो। हामीले केही समय ट्यांकीको प्रयोग गयौं’, उनले भने, ‘अहिले पशुमा कुनै किराको प्रकोप भए औषधि किनेर असुरक्षित तरिकाले घरमै लगाइने गरिएको छ।’

शारदा नगरपालिका १३ रेशमज्युलामा बनाएको डिपिङ ट्यांक संरक्षण अभावमा पुरिन थालिसकेको स्थानीय नरबहादुर बुढाथोकीले बताए। गाउँमा गाइभैंसी र बाख्रापालन गर्ने क्रम बढ्दै गए पनि ट्यांकीमा उपचार गराउने चलन हटिसकेको बताए। ‘पहिले गाउँगाउँमा सरकारी अनुदानमा ट्यांकी बनाउने लहर चल्यो। केही समय उपचारका लागि प्रयोगमा समेत आएको उनको भनाई छ। उनलले  भने, ‘तर अहिले सबै अलपत्र परेपछि बालबालिकाले खेल्ने ठाउँको रूपमा प्रयोग गरिरहेका छन्।’

उनले पशु सेवा कार्यालयले अनुगमन नगरेका कारण पनि सरकारी रकमको दुरुपयोग भएको जनाए । उनका अनुसार ट्यांकी संरक्षणका लागि बनाइएका समिति अहिले निष्क्रिय छन्। मूलखोलामा निर्माण गरेको ट्यांकी अहिले पशु चौपाया आहाल बस्ने ठाउँमा परिणत भएको स्थानीय हरिलाल बिष्टले बताए। किसानले प्रयोग गर्न नजान्दा ट्यांकी बेवारिसे बनेको उनको भनाइ छ। उनका अनुसार संरक्षण नहुँदा वर्षेनी पुरिने क्रम बढ्दै गइरहेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पशुको उपचार सहज बनाउन जिल्लाभरि दुई दर्जन बढी ट्यांकी निर्माण गरिएको थियो। केन्द्र प्रमुख टेकनाथ आचार्यले स्थानीय तथा पशु प्राविधिकको बेवास्ताले ट्यांकी प्रयोगविहीन भएको बताए।

थाहाखबर