☰ open Loading... 26 April 2024|  

मुगुकाे पापु गाउँमा खानेपानी धारा
  | १४ जेष्ठ २०७६, मंगलवार १८:३९

आकाशको पानी थापेर पिउँदै आएका मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका बासिन्दाको पीडा अन्त्य भएको छ । बेलायत सरकारको सहयोगमा पापुगाउँमा खानेपानीको धारा निर्माण गरिएपछि उनीहरूको पीडा अन्त्य भएको  हो  ।  यहाँका बासिन्दा कुवा, खाल्डा र काठको भाँडाकुडामा पानी संकलन गरेर राखेको पानी पिउँदै आएका थिए । खानेपानीको मूल टाढा भएकाले ल्याउन पनि गाह्रो हुने गरेको स्थानीय बासिन्दा रनचन्द्र बडुवालले बताए । ‘जम्मा गरेको पानीमा पनि कीरा, झिगा, गडेउला हुन्थे, त्यही पिउनुपथ्र्यो,’ उनले भने ।

अहिले बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको समन्वय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा धारी खानेपानी आयोजना निर्माण गरिएको हो । यो गाउँमा २६ लाखमा पाँच धारा निर्माण गरिएका छन् ।

पाँच किलोमिटर दुई सय मिटर टाढाबाट गाउँमा पानी ल्याइएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक रामशोभा मण्डलले बताए । यसबाट पापु गाउँका ८० परिवार लाभान्वित भएका छन् । खानेपानी आयोजना निर्माण भएपछि सजिलो भएको स्थानीय मानु बुढाले बताए । ‘चौबिसै घन्टा धारामा पानी आउँछ । पुस्तौदेखिको दुःख सकिएको छ,’ उनले भने ।