☰ open Loading... 26 April 2024|  

सिन्जामा मितेरी प्रसूति सेवा सुरु
  | १७ जेष्ठ २०७६, शुक्रबार १७:५७

सिन्जा गाउँपालिका–६ शनिगाउँमा मितेरी प्रसूति सेवा सुरु भएको छ । बुधबार प्रसूतिगृहको उद्घाटन गरिएको छ । प्रसूतिगृह निर्माणका लागि स्थानीय काले बुढाले तीन सय वर्गमिटर जग्गा प्रदान गरेका थिए । बुधबारदेखि नै सेवा सञ्चालन गरिएको स्वास्थ्यकर्मी शारदा रोकायाले बताइन् । प्रसूतिगृह सञ्चालनमा आएपछि स्थानीय सुत्केरी आमालाई सहज भएको सिन्जा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढाले बताए ।

 भौगोलिक विकटताका कारण प्रसूतिगृहमा आउनेको संख्या न्यून रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताए । उनका अनुसार, प्रसूतिगृह नभएका कारण घरमै सुत्केरी हुने गरेका थिए । नेप्लिज नर्सिङ एसोसिएसन (एनएनएयुके) युकेको आर्थिक सहयोग तथा एक्सन वक्र्स नेपालले मितेरी प्रसूतिगृह निर्माण गरेको हो ।

२२ लाख ६२ हजार लागतमा प्रसूतिगृह निर्माण भएको एक्सन वक्र्स नेपालका जिल्ला अधिकृत केशव धितालले बताए । सिन्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले एक वडा एक स्वास्थ्य संस्था अवधारणाअनुसार सिन्जा–६ मा प्रसूतिगृह स्थापना भएको बताए । अब प्रसूतिगृह आसपासमा स्वास्थ्य संस्था स्थापनाका लागि पहल गर्ने उनले बताए ।