सल्यान : जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १ को आमखोलीमा तरकारीबाटै किसानले वार्षिक लाखौं आम्दानी गरी रहेका छन्। समूहमा आवद्ध भई तरकारी खेतीमा लागेका किसान हाल व्यवसायिक खेतीमा लागेका हुन। उनीहरूले एक सिजनमा मात्रै एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन्।
तरकारीबाटै एक सिजनमा ५० हजारदेखि एक लाख बराबरको आम्दानी गर्ने गरेको किसान टोपवहादुर वुढाक्षेत्रीले वताए। धान भन्दा तरकारीबाटै फाईदा हुने भएकोले धान लगाउन छााडेर तरकारी खेतीमा लागेको उनको भनाई छ।
उनले भने, ‘आफ्नो सबै जग्गामा हिउँद वर्षा सधैँ तरकारी लगाउने गरेका छौं। तरकारीबाटै छोरा छोरीलाई शिक्षा-दीक्षा दिन र घर खर्च राम्रोसँग चल्दै आइरहेको छ।’ तरकारी खेती गर्न थालेको पाँच वर्ष भएको बताउदै बुढाक्षेत्रीले तरकारी खेती गर्न थालेपछि कहिल्यै २०४ रुपैयाँको दुःख नपरेको बताए। तरकारी गरेर वर्षमा ३ देखि ४ लाख रुपैयाँ कमाई गर्ने गरेको तुङ्गबहादुर विसीले बताए। ६ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आइरहेका विसीले अर्को वर्षदेखि जमिन भाडामा लिएर थप तरकारी खेती गर्ने योजना बनाएका छन्। उनले भने, ‘काम गर्दै जाँदा तरकारीविज्ञ जस्तै भइयो।
कुन समयमा कुन जातको बीउ लगाए रोगकिरा लाग्छ र जोगाउ सकिन्छ भन्ने अनुभव भइसकेको छ।’ यस्तै कालिमाटी गाउँपालिका २ पुतलीबजारका ५२ वर्षीय डम्बरबहादुर खत्री तरकारी खेती गर्न थालेपछि मजदुरीका लागि भारत जान छोडेका छन्। तरकारी खेतीलाई व्यवसायिक बनाए पछि भारत जान नपरेको खत्रीको अनुभव रहेको छ। उनले भने, ‘भारतमै बसेर कति दुः ख गर्नु भनेर २०६० सालमा भारतमा नेपाल फर्किएको हुँ। नेपाल फर्किएकै वर्षदेखि तरकारी खेती सुरु गरेँ।’
१५ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आइरहेका खत्रीको बारीमा अहिले काक्रो, करेला, टमाटर, सिमि, बोडी, भिडेँ खुर्सानी लगायतका तरकारी रहेका छन्।
आफूहरूले उत्पादन गरेको कृषि जन्य वस्तुको बजारीकरणमा समस्या नभएको कुलप्रसाद भण्डारीले बताए। केही तरकारी स्थानीय बजारमा खपत हुन्छ। बाँकी सदरमुकाम खलंगा, दाङ, सुर्खेतको बोटेचौर पठाउने गरेको उनले बताए। उनले भने,‘पहिले तरकारी खेती गर्ने साविकको कालिमाटी गाविसभरी २/३ जना मात्रै थिए। तर आजभोलि ५० देखि ६० जनासम्मले व्यवसायिक तरकारी खेती गरी रहेका छन्।’
पछिल्लो समय भारतीय तरकारीले स्वदेशी तरकारीलाई केही विस्थापित गरे पनि तरकारी खेतीले आफ्नो जीवनमा निकै परिवर्तन ल्याएको किसानको भनाई रहेको छ।