सुशील खड्का
सुर्खेत । दुर्घटनामा मृत्यु भएका पत्रकार नन्दबहादुर गेलाङ्गको अन्त्यष्टी गरिएको छ । उनको लेकवेशी नगरपालिका–७ चिंगाड खोलामा शनिबार अन्त्यष्टी गरिएको हो । गेलाङ्गलाई उनका बुवाले दागवत्ती दिएका थिए ।
यो पनि पढ्नुहोस् : पाँच बुदे सहमतिपछि पत्रकार गेलाङ्गका आफन्तले शव बुझे (निर्णयसहित)
यो पनि पढ्नुहोस् : पत्रकार गेलाङ्गको शव नउठाउने भन्दै छिन्चुमा सडक अवरुद्ध
यो पनि पढ्नुहोस् : पत्रकार गेलाङ्गकाे दुर्घटनामा मृत्यु
अन्त्यष्टीमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, मगर संघ, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश तथा सुर्खेत शाखाले झण्डा ओडाएका थिए । उनीहरुले गेलाङ्गप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई दुःखद् घडीमा सम्हालिन आग्रह गरेका थिए ।
अन्त्यष्टीमा लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनार, दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी, नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, क्षेत्रीय कमिटी सभापती नारायण कोइराला, नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका अध्यक्ष पञ्चासिह रोकाया खाम्पा, मगर संघका अध्यक्ष डिलबहादुर बंशिमगर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाला, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दिपेन्द्र शर्मा, पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, सचिव सुदीप पुरी लगायतको उपस्थिति थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संस्थापक अध्यक्ष रहेका गेलाङ्ग नेपाल पत्रकार महासंघ जिल्ला समिति सुर्खेतका सह–सचिव एवम् सुर्खेत पहिचान दैनिकका प्रकाशक एवम् सम्पादक थिए । समाचार संकलनको क्रममा सुर्खेतको मेहलकुना जाँदै गरेका गेलाङ्गको बुधबार लोदेमा टिप्परको ठक्करबाट मृत्यु भएको थियो ।