☰ open Loading... 26 April 2024|  

समयमै गरौँ क्षयरोगको उपचार
  | २३ असार २०७६, सोमबार १८:२६

क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक ब्याक्टेरियाले गर्दा हुने रोग हो । त्यसैले, यसलाई छोटकरीमा टिबी भनिन्छ । क्षयरोगले मुख्यतया फोक्सोलाई असर गर्छ । साथै, मिर्गाैला, हाड, मस्तिष्क, मेरुदण्डलगायत शरीरका अन्य अंगमा समेत यो संक्रमण फैलिन सक्छ । नेपालमा करिब ७० प्रतिशतमा क्षयरोगको समस्या फोक्सोमै हुने गर्छ । बाँकी ३० प्रतिशत संक्रमण भने छातीबाहेक अन्य अंगमा हुन्छ ।

यसरी सर्छ

  •  क्षयरोग सरुवा रोग हो । जुन हावाको माध्यमले एक व्यक्तिबाट अर्कोमा सर्छ । संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा क्षयरोगको कीटाणु वातावरणमा फैलिन्छ । उक्त कीटाणु सास फेर्दा स्वस्थ व्यक्तिमा सर्ने गर्छ ।
  •  तर, क्षयरोगको संक्रमण सबैलाई हुँदैन ।  विशेषगरी, प्रतिरोधी क्षमता कम भएका मानिस यसबाट बढी प्रभावित हुने गर्छन् । त्यस्तै, सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई पनि बढी जोखिम हुने गर्छ ।

लक्षण

  •  दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, साँझपख ज्वरो आउनु, पसिना आउनु, छाती दुख्नु , खानामा अरुचि हुनु र खकारमा रगत देखापर्नु क्षयरोगका मुख्य लक्षण हुन् ।
  •  क्षयरोगका लक्षण अंगअनुसार फरक हुन्छन् । ग्रन्थीको क्षयरोग भएमा ग्रन्थीको आकार बढ्ने, सुन्निने, एक–अर्कासँग जोडिएजस्तो हुने, छालामा प्वाल बन्ने वा पिप निस्कनेजस्ता लक्षण देखिन्छन् ।
  •  मेनेन्जाइटिस भएमा ज्वरो आउने, टाउको दुख्ने, शरीर काम्ने बेहोस र भ्रम हुने हुन्छ ।
  •  हाड तथा जोर्नीमा क्षयरोग भएमा हाड जोर्नी दुख्ने र सुन्निने हुन्छ । त्यस्तै, पेटमा क्षयरोग भएमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने तथा हल्का ज्वरो आउनेजस्ता समस्या हुन्छन् ।

रोकथाम र उपचार 

  •  नियमित स्वास्थ्य परीक्षण गराउनु नै क्षयरोगबाट बच्ने उपाय हो । क्षयरोगको लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिई समयमै उपचार गर्नुपर्छ । दुई हप्ताभन्दा बढी लगातार खोकी लागेमा खकार जाँच गराउनुपर्छ । जसबाट क्षयरोग भए÷नभएको पत्ता लगाउन सकिन्छ । त्यस्तै, एक्सरे, बायोप्सी र कल्चर टेस्टबाट पनि क्षयरोग पत्ता लाग्छ ।
  •  नियमित औषधि सेवन गरेरमा क्षयरोग पूर्ण रूपमा निको हुन्छ । सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दै आएको छ । सुरुको दुई महिनामा दुईवटा र पछिल्लो चार महिनामा अर्को दुईवटा औषधि खानुपर्छ । डट्स पद्धतिद्वारा उपचार गरिन्छ । रोगको प्रकृति र प्रभावित अंगका आधारमा कम्तीमा एक वर्षसम्म औषधि खानुपर्छ ।