दैलेख, महावु गाउँपालिकाबाट चालु तर्फ खर्च गरिएको विकास योजनाको रकम खातामा पैसा नहुँदा रोकिएको छ । खातामा रकम सकिएको तर, भुक्तानी लिन बाँकी रहेका रहेका उपभोक्ता समितिहरु काम सकिएपनि भुक्तानी पाउन सकेका छैनन् । महावु गाउँपालिकाको बाँसी गाउँस्थिति भगवती आधारभुत विद्यालय निर्माण समितिका अध्यक्ष प्रेम मल्ल वैशाखमा पेश्की रकम ५ लाख लिएर काम थाले तर, अहिले दुई कोठे भवन निर्माण सकिएको कार्यसम्पन्न प्रतिवेदन पेश भईसक्दा समेत भुक्तानी पाएनन् । उनले गाउँपालिकाबाट ११ लाख भुक्तानी लिन बाँकी छ । गाउँपालिकाले बढी योजना कार्यपालिका बैठकबाट बनाएर काम गर्न थालेपछि सम्पन्न भएका योजनाको रकम दिदाँ खातामा पैसा नभएको हो । आफुहरुले समयसिमाभित्रै योजना सम्पन्न गरेपछि गाउँपालिकाको खातामै रकम नहुँदा भुक्तानी नभएको खाडपाल्चौर सिचाई उपभोक्ता समितिका अध्यक्ष विरबहादुर नेपालीले बताए ।
खातामा पैसा नहुँदा राष्ट्रिय बाणिज्य बैंकले उपभोक्ता समितिलाई फिर्ता पठाउने गरेको छ । ‘महावु गाउँपालिकाको चालु तर्फको खातामा पैसा छैन् ।’ राष्ट्रिय बाणिज्य बैंकका प्रवन्र्धक चेतन विसीले भने, खाताको हिसाव विग्रिएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमा हिसाव मेलानको काम भैरहेको छ ।’
कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दा बढी रकम खर्च भएको हुनसक्ने गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । योजना बढी भयो । अध्यक्ष शाहीले भने, बजेट कम हुँदा भुक्तानीमा समस्या हुनसक्छ । तर, हामी क्रमागत रुपमा त्यस्ता योजना राखेर भुक्तानी साउनमै दिने ब्यवस्था मिलाउने छौं । विकास योजनाका लागि कुनै शिर्षकमा कम रकम आएकाले पनि भुक्तानीमा समस्या भएको हुनसक्ने उनको तर्फ थियो । गाउँपालिका अध्यक्ष शाहीका अनुसार ३३ देखी ३५ लाख रुपैँया बढी खर्च भएको हुनसक्ने अनुमान छ । योजना धेरै भयो काम पनि भयो तर, भुक्तानी गर्दा खातामा कम पैसा भएकाले समस्या आएको तर, छिटै समाधान हुने गाउँपालिका अध्यक्षको भनाई छ ।
| ७ श्रावण २०७६, मंगलवार १९:३७