☰ open Loading... 15 November 2024|  

प्रधानमन्त्रीसँग ‘रअ’का प्रमुखको भेट भएकाे छैन : सञ्चारमन्त्री
  | १० श्रावण २०७६, शुक्रबार १६:२०

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेटघाट नभएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रअ’ प्रमुखसँग भेट नगरे पनि मूलधारका सञ्चार माध्यमले भेट गरेझैं गरी हल्ला फैलाएको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नुभएको छैन । मिडियाले हल्ला फैलाएको मात्रै हो,’ उनले भने, ‘मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिउँ ।’

प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको उनले बताए । ‘नेपाल सुन्दर देश छ, पशुपति छ । यहाँ घुम्न मान्छेहरू आइराख्छन्,’ उनले भने, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअका पक्षका हुँदैनन् होला नि होइन त ? फेरि किन कर्मचारीलाई भेटिराख्ने ?’

कसैले भेटेको भए पनि कूटनीतिक मर्यादाअनुसार नै भेट गर्नुपर्ने उनले बताए ।

यस्तै एक अर्को प्रसंगमा बोल्दै मन्त्री बाँस्कोटाले जनताको बहुदलीय जनवाद (जबज) को बारेमा पार्टीको अगामी महाधिवेशनमा व्यापक छलफल हुने बताए ।

नेकपाले जबज स्वीकार गरिसकेको भन्दै बास्कोटाले भने, ‘तिम्रो आँखा मन पर्यो, हिँडाइ मन पर्याे, बोलीबचन र सोचाइ, अनि काम पनि मन पर्योे । तर तिमी चाहिँ मन परेन भन्यो भने त्यसको के अर्थ लाग्छ ? सबै कुरा मन पर्यो, विचारदेखि दृष्टिकोणसम्म भनेपछि तपाईहरु आफैं भन्नुस्, हामी कुन बाटोमा हिँडेका छौं ?’

नेकपा केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज समेत रहेका मन्त्री बास्कोटाले नेकपाको सिद्धान्त नै शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट अघि बढ्ने र संविधानको सर्वोच्चता मान्ने भएको र पार्टी जीवनमा बहुदलीय जनवादकै अभ्यास गरिसकेपछि त्यसलाई अवलम्बन गर्न लाज मान्नु नपर्ने बताए । उनले भने, ‘पार्टी जीवनमा हामी सबै कुरा त्यही अप्लाई गर्ने, भन्न किन लाज मान्नुपर्ने ?’

उनले अघि भने, ‘अहिले यो बहसहरु पछि गरौं भन्ने भएको छ । यहाँबाट बाहिर जान खोज्यो भने लडिन्छ । नेपालको मूल बाटो भनेको लोकतन्त्र र प्रतिस्पर्धाको बाटो हो । जबजलाई अंगालो हालिसकेपछि लजाउनुपर्ने कुरा छैन । तर पनि यसमा छलफल भइरहेको छ, महाधिवेशनले फैसला गर्ने हो ।’

मदन भण्डारीका पालामा जनताको बहुदलीय जनवाद पारित गर्ने बेलामा पनि समाजमा ठूलो बहस र जनताको समेत राय लिइएको भन्दै महाधिवेशनमा यसबारे वृहत छलफल हुने बताए ।

भारतीय नागरिक मुन्सीलालको नेपाली नागरिकता खारेज

सरकारले भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै यस्तो बताए ।

युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रूपमा प्रस्तावित १२० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गरिएको छ ।

विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरकारले अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाका अनुसार खानेपानी मन्त्रालयमा २१३ जना, वन तथा वातावरण मन्त्रालयमा ५० जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७२६ जना अस्थायी कर्मचारी भर्ना गरिनेछ ।

राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय सरकारले गरेको छ । यसैगरी कञ्चनपुर जिल्लामा मृत्यु भएका चन्द्रदेव भट्टको परिवारलाई ५ लाख राहत उपलव्ध गराउने मन्त्री बास्कोटाले बताए ।

यस्तै रौतहटमा जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवाहरू मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रति परिवार ५ लाख राहत उपलव्ध गराउने निर्णय सरकारले गरेको छ ।

नेपाल र जर्जियाबीच कूटनीतिक तथा अफिसियलरसर्भिस राहदानी वाहकहरूका लागि आवश्यक भिसा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं जिल्ला साविक खड्का भद्रकाली गाविस वडा ७ कित्ता न ७३ हाल बुढानीलकण्ठ नगरपालिका वडा नं ७ कित्ता न २३ को नेपाल सरकारको नाममा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

नारायणघाट मुग्लिन सडकमा पर्ने इण्टमिडिएड लेन का पुललाई डबल लेनमा निमार्ण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम वातावरणीय अध्ययन समेत गरी डिजाइन तथा निर्माण सम्बन्धी काम ठेक्काबाट गर्ने गरी बोलपत्र आह्वान गर्न सरकारले स्वीकृति दिएको छ ।

बर्दगोरिया ४०० र १३२ केभी सवस्टेशन कैलाली का लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको छ । प्युठान जिल्ला माण्डवी गाउँपालिकाको केन्द्र साविक नयाँगाउँ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी माण्डवी गाउँपालिका वडा ३ जस्पुर कायम गर्ने निर्णय सरकारले गरेको छ ।

सरकारले दूरसञ्चार नवौं संशोधन नियमावली २०७६ स्वीकृत गरी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुरूषोत्तम प्रसाद खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतलाई सरूवा गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयका सचिवमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को ५ भदौ २०७५ को निर्णयानुसार सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय भएको छ ।

यसैगरी मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिइएको छ ।