☰ open Loading... 16 November 2024|  

सुर्खेत–हिल्सा सडक निर्माणमा ६४ अर्ब लाग्ने
  | १७ श्रावण २०७६, शुक्रबार ११:५२

सुर्खेत, कर्णाली प्रदेशलाई भारत र चीनसँग जोड्ने त्रिदेशीय सडक निर्माणका लागि ६४ अर्ब लाग्ने अनुमान गरिएको छ । चिनियाँ कम्पनीले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार, यो सडक चार सय तीन किलोमिटर हुनेछ । चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इन्जिनियरिङ कम्पनीले सुर्खेत–हिल्सा सडको सम्भाव्यता अध्ययन गरेको हो । गत कात्तिकदेखि सम्भाव्यता अध्ययन थालेको चाइना रेलवे इन्जिनियरिङ कम्पनीले बिहीबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रतिवेदन बुझाएको छ ।

चाइना रेलवे इन्जिनियरिङ कम्पनीले तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनले सुर्खेतदेखि हिल्सासम्म सडकको दूरी चार सय तीन किलोमिटर हुने र त्यसका लागि ६४ अर्ब लाग्ने अनुमान गरेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले बताए । ‘झन्डै ११ महिना समय लगाएर सिआरइइसीले प्रतिवेदन बुझाएको छ’ डा.रेग्मीले भने, ‘प्रदेश सरकार र संघीय सरकारको प्राथमिकतामा रहेको सडक निर्माणले कर्णालीलाई छिमेकी चीन र भारतसँग जोड्ने महत्वपूर्ण  कार्य हुनेछ ।’

यो त्रिदेशीय सडकले कर्णालीको समृद्धिका लागि महत्वपूर्ण  भूमिका निर्वाह गर्ने डा.उपाध्यक्ष रेग्मीको भनाइ छ । सम्भाव्यता अध्ययन प्रतिवेदनपछि एक वर्षमा सडकको डिपिआर र डिजाइन स्टेमेट बनाई ६ वर्षमा सडक निर्माण सम्पन्न हुने गरी योजना बनाइएको उनले बताए । बिहीबार काठमाडौंमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, विपक्षी दलका नेता जीवनबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष रेग्मीसहितको उपस्थितिमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिवेदन बुझेका हुन् ।

गत कात्तिकमा मुख्यमन्त्री शाहीसहित चाइना रेलवे इन्जिनियरिङ कम्पनीको टोलीले सडकको अनुगमन गरेको थियो । कर्णाली सरकार र सिआरइइसीको १२ सदस्यीय टोलीले सडकको हेलिकोप्टर र स्थलमार्गबाट सम्भाव्यता अध्यययन गरेको थियो । गत वर्ष असोजमा भएको कर्णालीका मुख्यमन्त्री शाहीको चीन भ्रमणको क्रममा पहिलो चरणमा चीन सरकारको सहयोगमा हिल्सा–सुर्खेत–जमुनाह सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।

यस्तो छ त्रिदेशीय मार्ग
चीनको तिब्बत र भारतको उत्तरप्रदेशसँग जोडिने त्रिदेशीय मार्ग कर्णाली र प्रदेश ५ लाई समेट्नेछ । उत्तरी नाका हिल्साबाट दक्षिणी नाका जमुनाहसम्म पाँच सय २१ किलोमिटर हुनेछ । यसले हिल्सा, सिमिकोट, लैफु, खुलालु, बामेसिमल, नेपालगन्ज हुँदै जमुनाहलाई जोड्नेछ । यसले तिब्बतको हिल्सासँग कर्णाली प्रदेशको सम्बन्ध जोड्ने विश्वास गरिएको छ । ऋहिले छिमेकी देशसँग सीधा र सहज आवतजावत नभएको कर्णाली प्रदेश मात्रै हो ।

नयाँपत्रिकाबाट