☰ open Loading... 3 May 2024|  

कुदुगाउँमा डिप बोरिङबाट खानेपानी
  | ११ भाद्र २०७६, बुधबार २०:४०

खानेपानीको अभाव झेल्दै आएका जाजरकोटको भेरी नगरपालिका–१३ कुदुगाउँवासीलाई राहत मिलेको छ । यो गाउँमा डिप बोरिङबाट खानेपानी निकालिएको हो ।
एक सय ५२ मिटर बोरिङ गरेर पानी निकालिएको छ । यसबाट चार सय ६५  परिवार लाभान्वित भएका भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए । यसमा  नगरपालिकाको ४५ लाख लागेको छ । यसबाट २५ मिनेटमा दुई हजार लिटरभन्दा बढी पानी निकालिने अपरेटर राजेश बिसीले बताए ।

यसका लागि महिनामा एक सय युनिट विद्युत् खपत हुने जनाइएको छ । त्यसका लागि स्थानीय बासिन्दाबाट शुल्क लिइने भएको छ । प्रतिपरिवार महिनाको एक सय रुपैयाँ शुल्क लाग्ने नगरपालिकाले जनाएको छ ।

यसअघि कुदुगाउँका बासिन्दा पानीका लागि एक घन्टा टाढाको भेरी नदीमा पुग्ने गरेका थिए । उनीहरू नदीकै पानी पिउँदै आएका थिए । बोरिङबाट खानेपानी आएपछि भेरी नदीबाट पानी ल्याउनुपर्ने बाध्यता सकिएको स्थानीय नरबहादुर बस्नेतले बताए ।