हिन्दी फिल्म उद्योगमा बायोपिक फिल्म र सत्य घटनामा आधारित फिल्महरूको निर्माण गर्ने होड शुरु भएको छ । ‘मेरी कोम’, ‘भाग मिल्खा भाग’, ‘दंगल’, ‘धोनी’ जस्ता फिल्मको सफलताले एउटा नयाँ ट्रेन्ड शुरु गरिदिएको छ ।
“आज दर्शक फिल्महरूमा जीवनको सार्थकता र सत्यताको झलक हेर्न चाहन्छन् । अबका दर्शक फिल्महरूमा कुनै न कुनै किसिमबाट सम्बन्ध जोडिएको महसुस गर्न चाहन्छन् ।” यो भनाइ हो निर्देशक मिलन लूथरियाको, जसले सन् २०११ मा सिल्क स्मिताको जीवनमा आधारित फिल्म ‘द डर्टी पिक्चर’ बनाएका थिए । फिल्ममा विद्या बालनलाई यस फिल्मबाट एकदमै प्रशंसा मिलेको थियो । र, यस फिल्मले तीन वटा राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको थियो ।
यो वर्ष हिन्दी फिल्म उद्योगमा व्यक्तित्व र वास्तविक घटनाहरूमा आधारित करिब १० वटा फिल्म निर्माण भइसकेका छन् । यसमा समावेश छन्– ‘मिशन मंगल’, ‘बाटला हाउस’, ‘उरी–द सर्जिकल स्ट्राइक’, ‘ठाकरे’, ‘द एक्सीडेन्टल प्राइम मिनिस्टर’, ‘मणिकर्णिका’, ‘सुपर थर्टी’, ‘केसरी’, ‘पीएम नरेन्द्र मोदी’, ‘ताशकन्द फाइल्स’ आदि ।
यो वर्षको अन्त्यसम्ममा अरु पनि तीन यस्ता फिल्म आउने भएका छन् जसमा प्रियंका चोपडाको ‘स्काई इज पिंक’, ‘शूटर हजुरआमाको जिन्दगीमा बनेको फिल्म ‘साँड की आँख’– जसमा तापसी पन्नु र भूमि पेडनेकर देखिनेछन् । यसैगरी आशुतोष गवारिकरको फिल्म ‘पानीपत’ पनि रहेको छ, जसमा अर्जुन कपुर देखिनेछन् ।
‘मंगल पाण्डे’, राजा रवि वर्माको जिन्दगीमा आधारित ‘रंग रसिया’, ‘सरदार पटेल’ र दशरथ माझिमा आधारित फिल्म ‘माझीः द माउन्टेन म्यान’जस्ता चार बायोपिक फिल्महरू बनाउने केतन मेहता बायोपिक फिल्मको यो फस्टाउँदो समयसँग धेरै खुशी देखिन्छन् ।
उनको कथन छ– बायोपिक फिल्महरू ति व्यक्तिहरूलाई मान्यता दिने साधन भएको छ, जसले आफ्नो समयमा विशेष योगदान दिएका छन् ।
उता फिल्म समीक्षक अजय ब्रहात्मजको भनाइ छ– अहिलेसम्म जति पनि बायोपिक बनेका छन्, ती धेरैजसो खेल र सेनासँग जोडिएका वा चर्चित व्यक्तिहरूलाई लिएर मात्रै बनिरहेका छन् । तर यो सही अर्थमा बायोपिक होइन । उनका अनुसार बलिउडमा हमेशा आफ्नै पारामा धकेल्ने काम हुँदैआएको छ ।
फिल्मी कारोबारका विषयमा जानकारी राख्दै आएका अमोद मेहराको भनाइ छ– अहिले जति पनि बायोपिक फिल्महरू बनिरहेका छन्, त्यसमा धेरैजसो खेलसँग जोडिएका व्यक्ति परेका छन् । जसमा एउटा हिरोको कथा बुनिएको हुन्छ । यो पुरानै फर्मूला हो ।
उनी भन्छन्, “फिल्म ‘भाग मिल्खा भाग” या ‘मेरी कोम“ पछि लागेको थियो, बायोपिक फिल्महरूको अबका दिनमा फैलिएर जानेछ । तर अहिलेको अवस्थामा बायोपिक फिल्महरू पनि फ्लप भएर गएका छन् । जस्तो हकी प्लेयर संदीप सिंहमाथि बनेको फिल्म ‘सूरमा र अजहर’ । यसले बायोपिक्सको ट्रेन्डमा कमि आएको देखिएको छ ।”
अमोद मेहराको भनाइअनुसार कतिपय फिल्महरूको घोषणा त भएको छ, तर त्यसमा अहिलेसम्म काम शुरु हुन सकेको छैन । जस्तै ‘सायना नेहवाल’ जसमा पहिले श्रद्धा कपूर लीड रोलमा थिइन्, अहिले परिणीति चोपडा छिन । वरिष्ठ पत्रकार जयप्रकाश चौकसी भन्छन्, “मुक फिल्मको समयमा पनि बायोपिक फिल्महरू बनेका थिए ।” कवि तथा सन्तहरूमाथि कतिपय बायोपिक फिल्म बनेको पनि छ । जस्तै ‘सन्त तुकाराम’, ‘सन्त कालिदास’ र ‘सन्त ज्ञानेश्वर’ ।
उनको मान्यता यो पनि छ– हिन्दी फिल्मको हरेक काल–समयमा बायोपिक फिल्महरू बनेका छन् । जयप्रकाश चौकसीले बायोपिक फिल्महरूसँग जोडिएका केही कथा सेयर गरे, जब दिलीप कुमार ‘सन्त तुलसीदास’ माथि बायोपिक गर्नेवाला थिए ।
चौकसी भन्छन्, “फिल्मका निर्देशक महेश कौल तुलसीदासको जीवनमा आधारित रहेर एउटा फिल्म बनाउन चाहन्थे । त्यसका लागि उनले लेखक अमृतलाल नागरलाई आमन्त्रित पनि गरे । किनभने नागर तुलसी साहित्यका जानकार थिए । त्यसैले पनि उनलाई फिल्मका लागि आमन्त्रित गरिएको थियो ।”
“नागरले ६ महिना महेश कौलकासाथ बस्दै धेरै जसो तयारी पनि गरिसकेका थिए । जब उनी स्कृप्ट लेख्नका लागि बनारस गए, त्यसैबेला महेश कौलको निधन भयो । त्यस पछि नागरले आफ्नो स्कृप्टका आधारमा ‘मानस का हंश’ उपन्यास लेखे । जुन तुलसीदासको जिन्दगीमा आधारित थियो ।”
निर्माता जीएन शाहले पनि यस विषय माथि फिल्म बनाउन चाहेका थिए । त्यसका लागि उनले दिलीप कुमारलाई तुलसीको भूमिका निर्वाह गर्नका लागि भने । दिलीप कुमारलाई यसको कथा मन परेको थियो । उनी फिल्ममा काम गर्न तयार पनि थिए । फिल्मको तयारी पूरा भइसकेको थियो । तर ४१ वर्षको उमेरमा हृदयाघात भएर जीएन शाहको देहान्त भयो ।
त्यसपछि फिल्मका इन्चार्ज दिलीप कुमारसँग भेट गर्न आए । दिलीप कुमारले यो भूमिका निर्वाह गर्न गाह्रो हुने बताउँदै फिल्ममा काम नगर्ने निर्णय गरे । जयप्रकाश चौकसीको मान्यता छ, ‘कुनै पनि ट्रेन्ड मर्दैन । बस्, कुनै समयमा कम अनि कुनै समयमा धेरै भने हुन सक्छ ।’
कति सत्य हुन्छ बायोपिक फिल्म ?
जयप्रकाश चौकसीका अनुसार बायोपिक फिल्म निर्माण गर्ने समयमा मानिसको यथार्थ जिन्दगीको सत्यतासँग थोरबहुत सम्झौता गर्ने अवस्था आउन सक्छ । यस्ता कति फिल्म छन् जसमा जीवनको तथ्यसँग सम्झौता गरिएको थियो र त्यसमा केही मसलाहरू जोडिएको थियो ।
अमोद मेहरा राजकुमार हिरानीको संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजू’ लाई बायोपिक मान्दैनन् । उनी भन्छन्, “संजू एक परिकथा हो । जसमा संजय दत्तलाई सेतो बनाउने काम गरिएको छ । जसमा सत्यता छैन ।”
मेहराका अनुसार ‘संजू’ बनाएर निर्देशक राजकुमार हिरानीले बायोपिकका नाममा धेरै ठूलो धोका दिएका छन् ।
मिलन लूथरियाका अनुसार हिन्दी सिनेमामा बायोपिक फिल्महरू र सत्य घटनामा आधारित फिल्महरू आवश्यकता भन्दा धेरै बनिरहेका छन् । यदि यसलाई फिल्मी चालका लागि अथवा अनुचित लाभका लागि बनाइएको हो भने त्यसलाई गलत मान्नु पर्छ । बायोपिक फिल्म किन बनाइँदै छ भन्ने कुरा स्पष्ट हुनुपर्छ ।
अजय ब्रहात्मज पनि मिलन लूथरियासँग सहमत छन् । उनी भन्छन्, “यदि हतारमा वा नक्कलका लागि बायोपिक फिल्म बनाइन्छ भने त्यो गलत हुन्छ । तर बायोपिक इतिहासलाई बुझ्ने र त्यसको सम्पर्कमा रहने एउटा सार्थक माध्यम भने निश्चित हो ।”
बायोपिक फिल्म र स्टारहरू
बायोपिक र सत्य घटनाहरूमा आधारित फिल्महरूले कतिपय कलाकारहरूलाई सफलताको शिखरमा पुर्याएको छ । ‘डर्टी पिक्चर’ बलिउडको पहिलो महिला प्रधान फिल्म बन्यो जसले एक सय करोड कमायो । यस फिल्म पछि विद्या बालनको गिन्ती सुपर स्टारमा हुन थाल्यो । ‘संजू’ले रणवीर कपूरको हल्लीँदै गरेको करिअरलाई नयाँ मोड दियो । ‘एम एस धोनी’ फिल्मले सुशान्त सिंह राजपूतलाई नयाँ स्टारडम प्रदान गर्यो भने ‘उरी द सर्जिकल स्ट्राइक’ले विकी कौशललाई माथि ल्यायो ।
केतन मेहताको भनाइ छ, “जब कसैलाई सहि पात्रको भूमिका गर्ने मौका मिल्छ त्यसको सहभागिता पनि बढ्छ नै । त्यसले उसको कलाकारितामा वृद्धि हुन्छ ।” मिलन लूथरियाका अनुसार यदि राम्रो अभिनय र बक्स अफिसमा सफलताको मेल हुन्छ भने त्यो पात्र वा भूमिका सर्वकालिक सम्झनायोग्य बन्न जान्छ । यसैले पनि कलाकार रियल लाइफ भूमिका निर्वाह गर्नुलाई सम्मानजनक मान्दछन् ।
आउने केही बायोपिक
आउँदो एउटा फिल्ममा रणवीर सिंह कपिल देवको भूमिकामा देखिने भएका छन् । एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित मेघना गुलजार निर्देशित फिल्म ‘छपाक’ मा दीपिका पादुकोण मूख्य भूमिका निर्वाह गर्दैछिन् । त्यस्तै ‘गुंजन सक्सेना’, ‘बालाकोट’, ‘शेरशाह’ जस्ता बायोपिक पनि निर्माण हुँदैछन् ।
(सुप्रिया सोगले/बीबीसी)