मुना हमाल
सुर्खेत । वि.सं. २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मोहनमाया ढकाल वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर चुनाव लड्न चाहन्थिन् । तर पार्टीले उनलाई उप–प्रमुखको उम्मेदवार बनायो । उनी उम्मेदवार मात्रै बनिनन् अत्याधिक मतसहित विजयी पनि भइन् ।
तत्कालीन नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार बनेका चर्चित नेता बालाराम शर्मा पराजित हुँदा सोही पार्टीबाट उप–प्रमुखमा उम्मेदवार बनेकी ढकालले भने निकै लोकप्रिय मत पाएर जीत हात पारिन् । उनले पाएको मत आफ्नै पार्टीबाट प्रमुखमा उम्मेदवार बनेका शर्माको भन्दा बढी त थियो नै प्रमुखमा विजयी बनेका नेपाली कांग्रेसका उम्मेदवार देवकुमार सुवेदीको भन्दा पनि बढी थियो । तर यति लोकप्रिय मत पाए पनि उनी उप–प्रमुखमै सीमित भइन् ।
उप–प्रमुखमै भए पनि चुनाव लडेर ढकालले आफू कति लोकप्रिय छु भन्ने पुष्टि गरिन् । सँग–सँगै उनले पाएको मत र जीतले महिलालाई प्रमुखमा उम्मेदवार नबनाउँदा पार्टीले पराजय भोग्नुपरेको सन्देश समेत दियो । महिलाहरूलाई विश्वास नगर्दा क्षमता भएर पनि महिलाहरू उप–प्रमुखमै सीमित हुनुपरेको यो एक दृष्टान्त मात्रै हो ।
कर्णाली प्रदेशका कैयौं यस्ता क्षमतावान महिलाहरू नेतृत्व तहमा पुग्नबाटै वञ्चित भएका छन् । ढकाल पनि महिलाहरूलाई नेतृत्व तहको पद दिन पार्टीहरू अझै पूर्ण रूपमा तयार नभएको बताउँछिन् । ‘संविधानले प्रमुख र उप–प्रमुखमध्ये एक जना महिला र परूष हुने व्यवस्था गरेको छ । तर पार्टीले नेतृत्व गर्न सक्ने सक्षम महिला हुँदाहुँदै पनि प्रमुख पुरूष र उप–प्रमुख महिला हुन् भन्ने गराइदिए’ उनले भनिन् ।
निर्वाचनको समयमा पार्टीले मात्र होइन सार्वजनिक सञ्चारमाध्यमले समेत महिलाहरूलाई उपेक्षा गरेको उनको अनुभव छ । प्रमुख पदको उम्मेदवारको चर्चा गर्दा त्यसमा पुरूषहरूलाई मात्रै राख्ने र महिलाहरूलाई उप–प्रमुखमा राख्नाले पनि महिलाहरूप्रति सञ्चारमाध्यमको उपेक्षा प्रष्ट भएको ढकालको भनाइ छ । उप–प्रमुख ढकालले भनिन्, ‘महिलालाई प्रमुख पद होस् वा प्रत्यक्ष उम्मेदवार बनाउँदा दलहरूलाई बाध्य गराउन मिडियाले मिडिया क्याम्पियन नै चलाउनुपर्छ ।’
यस्तो गुनासो वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख ढकालको मात्रै होइन । यहाँका अधिकांश महिला राजनीतिकर्मीहरूको छ । महिलाहरूलाई सकेसम्म दोस्रो वा त्यसभन्दा तलको पदमा वा समानुपातिकमै सीमित गर्न खाजेको उनीहरू बताउँछन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट कर्णाली प्रदेशसभा सदस्य बनेकी पद्मा खड्काले समानुपातिक भनेको महिलाका लागि मात्र हो भन्ने भ्रम सृजना गरिदिएको बताइन् । अझै पनि पुरूष नै बलिया छन् र उनीहरूले जित्छन् भन्ने मानसिकता कायम रहेको उनको भनाइ छ । ‘सुर्खेतमा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।
तर प्रमुख दलहरू चुनावमा एक जना पनि प्रत्यक्ष रूपमा महिला उम्मेदवार बनाउन तयार भएनन्’ उनले भनिन्, ‘महिलाहरूलाई समानुपातिकमै सीमित गराइयो । यस सवाललाई मिडियाले पनि राम्रोसँग सम्बोधन गर्न सकेनन् ।’
नेपाली कांग्रेसबाट कर्णाली प्रदेशसभा सदस्य बनेकी अमृता शाहीले महिलाहरूलाई समानुपातिकमै राखेर पुरूषहरू प्रत्यक्ष चुनाव लड्ने गरेकाले पनि नेतृत्व तहमा महिला सहभागिता हुन नसकेको बताइन् ।
उनले पनि मिडियाले महिलाहरूलाई बेवास्ता गरेको गुनासो गरिन् । आफू दुई पटकसम्म संविधानसभा सदस्यका लागि उम्मेदवार भए पनि एक पटक मात्र मिडियामा नाम आएको उल्लेख गर्दै शाहीले मिडियामार्फत महिलाहरूलाई प्रचार–प्रसारमा प्राथमिकता नदिएको बताइन् ।
नेकपाकी नेतृ एवम् पूर्व संविधानसभा सदस्य ललिता रेग्मी पनि राजनीतिक दलहरूले जस्तै सञ्चारमाध्यमले महिलाहरूलाई उपेक्षा गरेको बताउँछिन् । महिला नेतृत्व स्थापित गर्न सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।
नेकपाकै अर्की नेतृ अनिता कोइलालाले पार्टीहरूले महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउनै नचाहने बताइन् ।nबुधवार वीरेन्द्रनगरमा सञ्चारिका समूहले आयोजना गरेको महिला राजनीतिज्ञ र पत्रकारबीच अन्तरक्रियामा सहभागी महिला राजनीतिज्ञहरूले महिलाहरूलाई नेतृत्व तहमा ल्याउन सञ्चारमाध्यमले बहस नै चलाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरीले पार्टीकै नेतृत्व तहमा पनि महिलाहरू जान नसकेको बताइन् । उनले क्षमतावान र संघर्षशील महिलाहरूलाई अगाडि ल्याउन मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै यस्ता सवालमा मिडियाले बहस चलाउनुपर्नेमा जोड दिइन् । साथै कार्यक्रममा सहभागी पत्रकारले पनि महिलाहरूको सवालमा गम्भीर भएर कलम चलाउने प्रतिबद्धता जनाएका थिए ।
(साझा विसौनी दैनिकबाट)