☰ open Loading... 23 August 2024|  

प्रदर्शन गर्न खोज्ने दर्जनबढी नियन्त्रणमा
  | १५ माघ २०७६, बुधबार १५:१८

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरमा फेरि प्रदर्शन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलबार एक युवाको टिप्पर ठक्करबाट मृत्यु भएपछि उग्र प्रदर्शनले तोडफोड गरेपछि आज वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

विहानै यरिचौकमा बजार बन्द गराउँदै हिडेका दर्जन बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहान पूर्ण रुपमा बन्द वीरेन्द्रनगरको बजार क्रमिक रुपमा खुलेको छ भने सवारी आवागमन समेत सञ्चालनमा छन् ।

टिपरको ठक्करबाट हिजो वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षिय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो । भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको हो ।

चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केशरका आफन्त नआएकाले उनको शव बुझेका छैनन् । केशरको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।