सुशील खड्का
सुर्खेत, १६ माघ ।
टिप्परको ठक्करबाट एक युवकको मृत्युभएपछि पीडितहरुले तीन दिनदेखि सुरु भएको आन्दोलन आजदेखि स्थगित भएको छ । जिल्ला प्रशासन, पीडित पक्ष, टिप्पर मालिकविच पाँच बुंदे सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
टिप्पर चालक राजकुमार बोहोरालाई हदैसम्मको कारबाही गर्ने, पीडित पक्षलाई कानून बमोजिम क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अगाडी बढाउने, आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचार प्रदेश सरकारले गर्ने, शवको पोष्टमाटमपछि आफन्तलाई बुझाउने र सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
पीडित र प्रशासनबीच सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरिएको छ । मागको सम्बोधन गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन र यातायातका ठप्प पारेका थिए ।
मंगलबार टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिम्खेतका केशर सिंहको मृत्यु भएको थियो । उनको शव प्रहरीले बल प्रयोग गरेर उठाएपछि तीन दिनदेखी वीरेन्द्रनगरमा पीडित पक्षले आन्दोलन गरिरहेका थिए ।