☰ open Loading... 17 May 2024|  

विदेशबाट आएका १७२ जनाको निगरानी गर्दै वीरेन्द्रनगर नगरपालिका
  | १६ चैत्र २०७६, आईतवार १६:४५

सुशील खड्का
सुर्खेत । रोजगारीका लागि विभिन्न मुलुकमा गएका तर वीरेन्द्रनगर फर्केका नागरिकहरुको उच्च निगरानी गर्न वीरेन्द्रनगर नगरपालिकाले विवरण संकलन गरेको छ । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन र उच्च सर्तकता अपनाउन विदेशबाट नगरपालिका आएकाहरुको विवरण संकलन गरेको हो ।


वीरेन्द्रनगरका १६ वटै वडामा हालसम्म एकसय ७२ जना नागरिक बाह्य मुलुकबाट आएको नगरपालिकाका कार्यबहाक प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनकाअनुसार यी मध्य तीन जना दुवै, साउदी, कतार, कोरिया, मलेसिया र कुवेतबाट एक/एक जना अन्य भारतबाट वीरेन्द्रनगर आएका छन् । सबै वडाहरुबाट विदेशबाट आएका नागरिकहरुको निगरानी गर्ने उदेश्यले विवरण संकलन गरिएको ढकालको भनाई छ ।

‘तत्काल उहाँहरुमा कुनै समस्या देखिएको छैन्’ कार्यबहाक प्रमुख ढकालले भनिन्, ‘कुनै समस्या देखिएमा चिकित्सको सम्पर्कमा आउनेगरी उहाँहरुलाई होम क्वारेन्टाइनमै बस्न लगाएका छौं ।’

सामाजिक दुरी कायम गर्न र घरबाहिर ननिस्कन समेत आग्रह गरेको ढकालको भनाई छ । सबै वडाबाट भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरुको विवरण जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाइएको छ ।