☰ open Loading... 21 May 2024|  

कोरोना अस्पतालमा एम्बुलेन्स चालकबाट स्वाब संकलन
  | १ भाद्र २०७७, सोमबार १२:४८

 

दैलेख : प्रयोगशालामा गरिने कोरोना भाइरस (कोभिड–१९) पीसीआर परीक्षणका लागि दैलेखमा एम्बुलेन्स चालकले नै स्वाब संकलन गरेका छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी दैलेख सदरमुकामस्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा निर्माण गरिएको कोरोना अस्पतालमा रहेका संक्रमितको एम्बुलेन्स चालकले स्वाब संकलन गरेका हुन्।



आइतबार बिहान आइसोलेसनमा उपचाररत तथा कोरोना संक्रमण भइ होम आइसोलेसनमा बसेका ४ जना संक्रमितको स्वाब एम्बुलेन्स चालकले संकलन गरेका हुन्। कोरोना संक्रमितको दोस्रो पटकको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिएको थियो।

स्वास्थ्य सेवा कार्यालय दैलेखद्वारा सञ्चालित एम्बुलेन्स चालक अर्जुन शाहीले कोरोना संक्रमितको स्वाब संकलन गरेका त्यहाँ उपचाररत एक संक्रमितले बताए। ‘तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वाब संकलन गरिनुपर्ने हो’, आइसोलेसनमा रहेका एक संक्रमितले भने, ‘एम्बुलेन्स चालकबाट स्वाब संकलन गरेर चरम लापरवाही भयो।’

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले एम्बुलेन्स चालकले आफूहरुलाई जानकारी नै नदिएर स्वाब संकलन गरेको बताए। ‘त्यहाँ रहनुभएका स्वास्थ्यकर्मीले स्वाब संकलन गर्नुपर्ने हो, त्यो सम्भव नभए हामी स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी पठाउँथ्यौ’, रेग्मीले भने, ‘आगामी दिनमा यस्तो लापरवाही हुँदैन।’ उक्त आइसोलेसनमा अहिले डा. प्रसन्न नेपालको नेतृत्वमा २ जना नर्स, एक जना कार्यालय सहयोगी खटाइएको रेग्मीले बताए।साभार: अन्नपूर्ण पोस्ट