☰ open Loading... 22 May 2024|  

सुत्केरीको मृत्यु प्रकरण, घटनाबारे अध्ययन गर्न छानविन समिति बनाइने
  | १४ भाद्र २०७७, आईतवार १९:४६

 

दैलेख- ठाटिकाँध गाउँपालिकामा सुत्केरीको मृत्यु भएपछि घटनाका बारेमा अनुसन्धानका लागि छानविन समिति गठन गरिने भएको छ।

गाउँपालिकाको वडा नम्बर १ निवासी पार्वती शाहीको सुत्केरी पछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो। उक्त घटनाको छानविनका लागि जिल्ला प्रशासन कार्यालय दैलेख समेतको समन्वयमा छानविन समिति गठन गरिने भएको हो।

गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको हेलचेकर्याइका कारण सुत्केरीको मृत्यु भएको आफन्तहरूले आरोप लगाएपछि घटनाका बारेमा छानविन गर्न समिति गठन गरिने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए।उनले भने, ‘जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा छानविन समिति गठन गर्दैछौ।’

यता, प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. लक्ष्मी रावतको भने सुत्केरीलाई प्रसुती गराउँदा कुनै लापरबाही नगरिएको बताइन्।

‘हामीले नर्मल डेलीभरी गराएका थियौं। बच्चा सकुशल थियो। तीन बजेर १८ मिनेटमा बच्चा जन्मेको हो,’ उनले भनिन्।

बच्चाको जन्म भएपछि अत्यधिक रक्तश्राव हुन थाल्यो। रक्तश्राव रोक्नका लागि औषधि पनि चढाइयो। तर, अवस्था जटित बन्दै गएपछि रिफर गरिएको डा. रावतले जनाइन्।

नवजात शिशुको उच्च शिक्षा अध्ययनसम्मको खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ। गाउँपालिका अध्यक्ष शाहीले भने, ‘बच्चालाई उच्च शिक्षासम्म अध्ययनको खर्च गाउँपालिकाले बेहोर्ने भएको छ। किरिया खर्चका लागि २५ हजार रुपैयाँ समेत दिने निर्णय गरेका छौं।’

स्वास्थ्य केन्द्रको लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले गाउँपालिका कार्यालयमा शनिबार तालाबन्दी समेत गरेका थिए।

के भयो थियो ?

दैलेखकी पार्वती शाहीलाई शुक्रबार दिउँसो ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइयो।

सुत्केरी व्यथाले च्यापेपछि उनलाई आफन्तहरूले करिव तीन किलोमिटर ठाडो उकालो बोकेर स्वास्थ्य केन्द्र पु-याएका थिए।

दैलेखको ठाटिकाँध गाउँपालिका–१ निवासी २३ वर्षीय शाहीलाई उनका आफन्तहरूले गाउँपालिकाको १ नम्बर वडामै रहेको प्राथमिक स्वास्थ्य केन्द्र पु-याएका थिए।

शुक्रबार ३ बजे शाहीले बच्चालाई जन्म दिइन्। सुत्केरी शाहीको कोखबाट दुई केजी पाँच सय ग्राम तौल रहेकी बालिकाले जन्म भयो।

३ बजेपछि भने शाहीको स्वास्थ्य थप बिग्रन थाल्यो। अत्यधिक रक्तश्रावलाई रोक्न स्वास्थ्यकर्मीहरू प्रयासरत रहे, तर रक्तश्राव रोकिएन।
सुत्केरीको स्वास्थ्य अवस्था बिग्रदै भएपछि स्वास्थ्य केन्द्रले प्रदेश अस्पताल रिफर गरिदियो।

गाउँपालिकामा एम्बुलेन्स समेतको व्यवस्था छैन। अन्यन्त्रबाट एम्बुलेन्स बोलाउँदा समयलाग्ने भएपछि स्थानीयको स्कारपिओ गाडीमा सुत्केरीलाई सुर्खेतमा रहेको प्रदेश अस्पताल ल्याइँयो।

शुक्रबार साँझ ६ बजे ठाटिकाँधको प्राथमिक स्वास्थ्यकेन्द्र बाट सुत्केरी बोकी हिडेको स्कारपियो राति १२ बजे प्रदेश अस्पताल आइपुग्यो।
सुत्केरीको स्वास्थ्य अवस्था चेकजाँच भयो। डाक्टरले उनलाई मृत घोषणा गरे।

सुत्केरी शाहीका आफन्त सर्जन शाहीले भने, ‘आधा बाटोमै सुत्केरीको अवस्था छन् गम्भीर देखिएको थियो। अस्पताल ल्याउँदा ल्याउँदै ज्यान गयो।’आयो मेलबाट