☰ open Loading... 2 May 2024|  

समाजसेवी तथा युवा नेता तीर्थ गरे वृद्ध दम्पतीलाई सहयोग
  | १५ कार्तिक २०७७, शनिबार २१:०६

वीरेन्द्रनगरस्थित खार्खोलामा बस्दै आएका एक विपन्न अशक्त वृद्ध दम्पतीलाई समाजसेवी तथा युवा नेता तीर्थ सुनारले सहयोग गरेका छन् । शनिबार वृद्ध दम्पतीको घरमै पुगेर तिहारका लागि नयाँ कपडा र खाद्यान्न सहयोग गरेका हुन् ।

केही दिनअघि नागरिक दैनिकका पत्रकार गणेश विशुले ‘मासु र लुगा त परको कुरा, जमरासमेत पाएनन् वृद्ध दम्पतीले’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार प्रकाशन पछि आफूले वृद्ध दम्पतीलाई राहतस्वरुप वृद्धवृद्धालाई नयाँ लुगा (पाइन्ट, सर्ट, चोली र धोती), चामल, दाल र तेल सहयोग गरेको समाजसेवी तथा युवा नेता सुनारले बताए । ‘समाचारमा वृद्ध दम्पतीको कथा पढ्दा मन थाम्नै सकेन्,’ उनले भने, ‘आफ्नो एक गाँससमेत कटाएर वृद्ध बुवाआमालाई सहयोग गरेँ ।’ खाद्यान्न र नयाँ लुगाले तिहारमा उक्त दम्पतीमा खुसीसँगै उत्साह छाउने उनको भनाइ छ ।

यसभन्दा अघि पनि विभिन्न ठाउँमा सहयोग वितरण गरेका समाजसेवी तथा युवा नेताले भने, ‘वृद्ध दम्पतीका जीवनी दुःखद् भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’
वृद्धवृद्धाका लागि सहारासमेत कोही नभएकाले उनीहरूको दैनिकी पीडादायी भएको उनले बताए । तल्लो, माथिल्लो र वरिपरिका घरमा दसैंको भिन्नै रौनक थियो ।

विश्वभरि फैलिएको कोरोना भाइरसको त्रासका बीचमा मनाइएको दसैंमा सबैका घरघरमा मासु, भात पाक्यो । नयाँ कपडासँगै निधारमा रातो टीका र कानमा पहेँलो जमरा सबैले लगाए । तर आर्थिक अभावका कारण उनीहरूले नयाँ लुगासँगै मीठो खानासमेत पाएनन् । कस्तो संजोग घटस्थापनाका दिनमा राखेका जमरासमेत उम्रिएन, जसले गर्दा नयाँ कपडा र मासु खाने सपना त परको कुरा निधारमा रातो टीकासँगै जमरा लगाउने सपनासम्म पनि साकार भएन । राहत पाउँदा वृद्ध दम्पतीले खुसी व्यक्त गरेका थिए ।

र्खोखोलाको किनार नजिकै सार्वजनिक जग्गामा झुपडी बनाएर बसेका उक्त दम्पतीलाई दसैंले गिज्याएर गयो । ‘सबैले नयाँ लुगा लगाए, मीठो मसिनो खाएर दसैं मनाए,’ सिउरामले भने, ‘हाम्रो त दसैं अरु दिनजस्तै भयो ।’ सिउरामको परिवारका लागि यसपालिको दसैं पनि पहिलाजस्तै गरी गयो ।

केही वर्षदेखि सिउरामलाई दसैं तिहार जस्ता पर्वको खर्च गुटाउन मुस्किल हुँदै आएको छ । रोजगारी नहुँदा र सरकारले ‘दसैं प्याकेज’ नल्याउँदा पर्व मनाउन समस्या भयो । ‘नयाँ लुगा लगाउने, मीठो मसिनो खाने रहर त लाग्छ,’ उनले भने, ‘तर के गर्नु आफूसँग पैसा हुँदैन । रहर मात्र मानेर के गर्नु ।’ ‘अरुले लगाएको र खाएको देख्दा मनमा अनेक कुरा खेले पनि पूरा हुँदैनन्,’ उनले भने ।

युवा नेता तथा समाज सेवी सुनारले सहयोग दिँदा उनको मुहार चम्किलो बन्यो । लामो समयदेखि नयाँ कपडा फेर्दा उनको यो दम्पत्तिको मुहार हसिलो भयो । ‘हाम्रो दुःख देखेर सहयोग गर्नु भयो । खुसी लागेको छ,’ उनले भने, ‘तपाइँले हामलाई हेर्नु भयो । तपाइँलाई भगवान्ले हेरुन् ।’