| १३ मंसिर २०७७, शनिबार ०६:४५
रुकुम पश्चिमको आठवीसकोट नगरपालिका-८ दाँजेमा जीप दुर्घटना हुँदा मृत्यु भएका चारजनाको सनाखत भएको छ । जन्ती बोकेको जीप शुक्रबार साँझ दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए ।
आठवीसकोट नगरपालिका-८ का ५१ वर्षीय कलीभान नेपाली, सोही गाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको बताइएको छ । ५८ वर्षीय लालबहादुर नेपाली घाइते भएका छन् ।
जाँदेबाट घारीखोला जन्ती लिएर गएको रा१ज ५८९ नम्बरको जीप चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीपमा १० देखि १२ जनासम्म भएको बताइएको छ । जीप सडकबाट करिब एक सय मिटर तल खसेको स्थानीयहरुले बताएका छन् ।