☰ open Loading... 6 January 2025|  

केन्द्रको अन्तरविरोधले कर्णालीलाई छोएन
  | २२ मंसिर २०७७, सोमबार ०६:५६

काठमाडौं । गत असोज २५ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीति नै तरंगित बन्न पुगेको छ । कर्णालीबाट सुरु भएको नेकपाको किचलोले पार्टी नै फुटको संघारमा पुगेको छ । पार्टी केन्द्रको बिवादका असरहरु केन्द्रमा मात्रै सीमित नभइ प्रदेश हुँदै गाउँ-गाउँसम्म पुगेका छन् । तर, कर्णालीमा भने केही आंशिक असरबाहेक ठूलै मतभेद भने नभएको नेताहरु बताउँछन् ।

‘केन्द्रमा देखिएको अन्तरविरोधले जिल्लामा ठूलै मतभेद त छैन,’ नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले भने, ‘तर एकताबद्ध पार्टी र विवादका बीच चलिरहेका पार्टीका गतिविधिमा केही असरहरु त परिनै हाल्छन् ।’ गत फागुनमा बसेको नेकपा सुर्खेत कमिटीको बैठक अझै बस्न सकेको छैन । तर, सचिवालयको बैठकबाट आवश्यक निणर्य र काम भइरहेको सचिव जिसीले बताए । उनका अनुसार संगठन विस्तारमा समेत कुनै असर परेको छैन ।

‘हामीले पार्टी नेतृत्वलाई नियालिरहेका छौं । अध्यक्षद्वयका प्रस्तावहरुले पार्टी, कम्युनिस्ट आन्दोलन र राष्ट्रप्रति कति जिम्मेवार छन् भन्ने चित्र प्रस्तुत गरिरहेको छ,’ उनले भने । कर्णालीमा पनि तीन समूह (ओली, प्रचण्ड र नेपाल) समूहका गुट उपगुट सक्रिय छन् । तर, ओली खेमा प्रतिपक्ष र प्रचण्ड र नेपाल खेमा सत्तापक्ष जसरी पार्टी र सरकारका काममा सरिक हुँदै आएका छन् । पार्टी केन्द्रमा देखिएको अन्तरविरोधले प्रदेश सरकारलाई ठूला नीतिगत निणर्य गर्न र ढुक्क भएर काम गर्ने वातावरण नभएको मुख्यमन्त्रीका समन्वय विज्ञ झक्कबहादुर मल्ले बताए ।

‘सांसदहरुको सहभागितामा गरिने कतिपय कामहरु प्रभावित छन् । सहमति नजुट्दा केही नीतिगत निणर्य हुन सकेको छैन,’ समन्वय विज्ञ मल्लले भने, ‘प्रदेश सरकारले गति लिन नसक्नुको कारण नै यही हो ।’ अनलाइन खबरबाट साभार ।