☰ open Loading... 17 May 2024|  

वडा नम्बर १० र १२ का स्थानीयको चर्को बिरोध, सुर्खेत बिमानस्थल बिस्तार गर्न नदिने निर्णय
  | १० पुष २०७७, शुक्रबार ०९:०६

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० र १२ का स्थानीयले बिमानस्थल बिस्तारका नाममा पटक–पटक जनतालाई धोका दिएको भन्दै सुर्खेत बिमानस्थल बिस्तार गर्न नदिने निर्णय गरेका छन् ।



बिहिबार अमरज्योती नमूना माध्यामिक बिद्यालय, वडा नं. १० र १२ का स्थानीय सहभागी बिमानस्थल छलफल सम्वन्धि भेलामा औचित्य नै पुष्टि गर्न नसक्ने गरी एकतर्फी रुपमा आएको बिमानस्थल बिस्तारको चर्को बिरोध गर्दै जनताको म्यान्डेडबाट बिमानस्थल बिस्तार गर्न नदिने निर्णय गरेको हो ।

यस अघि पनि ४ पटक सम्म बिमानस्थल बिस्तारको काम भई जनतालाई सपना मात्र बाँडिएको बताउँदै नागरिक अगुवा रामप्रसाद उपाध्यायले कुनै पनि हालतमा सुर्खेत जस्तो सानो उपत्यकामा गुरुयोजना प्रभावित हुने गरी यस्तो कार्य गर्न नहुने बताए । ‘दिर्घकालिन फाइदा के हो? यसबाट जनतालाई के फाइदा पुग्छ भन्ने बिषयमा स्पष्ट नपारि यस्तो कार्य कदाचित हुन सक्दैन’, उनले भने, ‘कसको फाइदामा यो कुरा आइरहेको छ ? त्यसको पर्दाफास हुन्छ र जनताले कुनै हालतमा मान्दैनन् ।’

अर्का नागरिक अगुवा उमालाल अचार्यले अबको बिकास कम्तीमा सय बर्ष पछिका लागि सोचेर गर्नुपर्ने स्पष्ट पार्दै जनताका अगाडी बिमानस्थल बिस्तारको औचित्य पुष्टि गर्न माग गरे । स्थानीय अगुवा पुर्ण प्रसाद पौडेलले जनताले एकै स्वरमा बिमानस्थल बिस्तार गर्न नदिने निर्णय गरेको र जनता त्यो अडानमा प्रतिबद्ध रहेको बताए ।

अमर ज्योती नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले अहिलेको अवस्थामा विद्यालयले मौजुदा अवस्थाको जस्तो भौतिक पूर्वाधार अन्यत्र गराउन नसक्ने उल्लेख गर्दै स्थानीयले बनाएको विद्यालयको स्वामित्व जनताको भएकाले जनताकै पक्षमा आँफुहरु रहेको बताए ।



स्थानीयको चर्को बिरोधपछि वडा नम्बर १० का अध्यक्ष रत्नबहादुर बुढा र १२ का अध्यक्ष लोकप्रसाद चालिसेले अाँफुहरु जनताकै पक्षमा रहेको बताएका छन् । उनीहरुले जनताको प्रतिनीधिका हैंसियतले उनीहरुले गरेको निर्णय नै अाँफुहरुको म्यान्डेड रहेकाले त्यसै अनुसार जनतालाई साथ दिन प्रतिवद्धता व्यक्त गरे । स्थानीयको भेलाले प्रस्तावित विमानस्थल बिस्तार प्रभावित नागरिक सरोकार समिति समेत गठन गरेको छ । समाज जागरण केन्द्रका कार्यकारी प्रमुख समेत रहेका टिकाराम आचार्यको संयोजकत्वमा २१ सदस्सीय समिति गठन गरिएको हो ।



बिमानस्थल विस्तारको उचित कारण, दिर्घकालिन फाइदा, मुआब्जा, जनतालाई हुने फाइदा र कर्णालीकै नमूना माविको रुपमा रहेको अमर ज्योती बिद्यालय लगायतका बिषयमा स्पष्ट जवाफ नदिएसम्म काम अघि बढाउन नदिने संघर्ष समितिका संयोजक आचार्यले बताए । विगतमा चार पटकसम्म विस्तार गर्दापनि पाउनुपर्ने सेवा नपाएको भन्दै बिमानस्थल बिस्तारको औचित्यबारे प्रभावितहरुले प्रश्न उठाउँदै आएका छन् ।

वडा नम्वर १० र १२ का अध्यक्ष तथा जनप्रतिनीधि सहित सरोकार समितिको बैठकका सहभागि ।

यता सुर्खेत नागरिक उड्डयन कार्यालयले प्रभावित क्षेत्रभित्र पर्ने जमिन तथा भौतिक संरचनाको लगत संकलन सुरु गरेको हो । कार्यालयले बिहीबार एक पत्र मार्फत प्रभावित क्षेत्रका भित्र १५ दिनसम्म नयाँ संरचना बनाउन, जग्गा खरिद बिक्री गर्न, हस्तातरण तथा धितो बन्धक लगायतका कुनै पनि काम सिफारिस नगर्न अनुरोध गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं। १० र १२ मा सिफारिस नगर्न अनुरोध गरेको हो ।



 

विमानस्थल फेन्सिङ लाइनदेखि उत्तर तर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा लगत कारोबार रोक्का गर्न कार्यालयले अनुरोध गरेको छ । सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेश पन्थीले कर्णाली प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा रहेको समिति, सुर्खेतका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समिति तथा अधिग्रहण लागत संकलन प्रारम्भिक उपसमितिको निर्णय बमोजिम लगत संकलन सुरु गरिएको जानकाकरी दिए । उनका अनुसार प्रभावित क्षेत्रभित्र के कति संरचना तथा जमिन पर्दछ भन्ने कुरा १५ दिन भित्रमा प्रतिवेदन आउने छ ।

विस्तृत प्रतिवेदन संभव नभएमा मोटामोटि विवरणसहितको प्रतिवेदन सार्वजनिक गरिने पन्थीले बताए । लगत संकलनको काम पुरा गरी त्यसको रिपोर्ट १५ दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र त्यसका आधारमा जग्गा रोक्का लगायतका काम बारे सूचना जारी हुने कार्यालय प्रमुख पन्थीले जानकारी दिए । उनका अनुसार अहिले ड्रोनबाट बिमान स्थल बिस्तारको सर्भे सम्वन्धि काम भइरहेको छ । बिमानस्थल बिस्तारका लागि भन्दै कर्णाली प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड रकम चालु आर्थिक बर्षमा बिनियोजन गरेको छ ।हाेस्ट खबरबाट