☰ open Loading... 24 November 2024|  

मन्दिरमा बोका चढाउन रुकुम पश्चिमका सिडिओ ग्रैहेले रचे यस्तो चाल
  | १९ पुष २०७७, आईतवार १३:५९

काठमाडौं । शनिबारअर्थात सार्वजनिक बिदाको दिन, रुकुम पश्चिमका अधिकृतस्तर र सोभन्दा माथिका सरकारी कर्मचारीले सरकारी सम्पत्तिको दोहन गरेर रमाइलो गरेको आरोप लागेको छ । सरकारी गाडी सार्वजनिक बिदाको दिन कार्यालय वा सरकारी कामबाहेक नियमतः चलाउन पाइँदैन । सरकारी सम्पत्तिको दुरुपयोग नियमन गर्ने प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा सार्वजनिक सम्पत्तिको दुरुपयोग बढिरहँदा रुकुममा जनआक्रोश बढेको छ ।

प्राप्त जानकारीअनुसार शनिबार जिल्लाको प्रसिद्ध मन्दिर डिग्रे शाइकुमारीमा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बोका चढाउने कार्यक्रम थियो । सोही प्रयोजनका लागि खोजिएको थियो कालो बोका । कालो बोका मन्दिरमा चढाएर दिनभर अधिकांश सरकारी कार्यालयका प्रमुखहरु रक्सीको तालमा नाचगान गरेका छन् । उनीहरु सबै सरकारी गाडीमै सवार थिए । बोकाको खर्च जुटाउन सिडिओले वनभोजको उपाय खोजेका बताइन्छ । जसका लागि अधिकृतस्तरका कर्मचारी मात्र जान पाउने र अनिवार्य प्रतिव्यक्ति दुई हजार पाँच सय उठाउने नियम बनाइएको थियो । २५ सय रुपैयाँ तिरेर बिदाको दिन सिडिओले मन्दिरमा चढाएको बोकाको मासु र रक्सीसँग रमाउने सरकारी कर्मचारीहरुले सरकारी गाडीको दुरुपयोग गरेको विद्यार्थी नेता तारक केसीले बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी, तरकारी बीउ उत्पादन केन्द्र, सिँचाइ र विद्युत् कार्यालयको गाडी दुरुपयोग गरिएको थियो । वनभोजमा ६ जना गाडी चालक, एक दर्जन बढी प्रहरी र एक दर्जन बढी निजामती कर्मचारीसहित करिब ३ दर्जनको सहभागिता रहेको थियो । वनभोजमा जिल्ला प्रशासन कार्यालय, सशस्त्र र नेपाल प्रहरीको कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, निर्वाचन कार्यालय, जिल्ला समन्वय समितिका अधिकृतहरुको सहभागिता रहेको थियो । त्यसैगरी वन कार्यालय, सिँचाइ, खानेपानी तथा उर्जा कार्यालय, तरकारी बीउ उत्पादन केन्द्र, जिल्ला हुलाक कार्यालय, विद्युत् कार्यालय, नेपाल बैंक, एभरेष्ट बैंकबाट समेत प्रमुख तथा अधिकृत स्तरका कर्मचारीहरु सहभागी रहेको बताइएको छ ।

बिदाको दिन भए पनि सरकारी गाडीमा सिडिओसँगै रमाइलो गर्न हिँडेका उनीहरुलाई कसले रोकोस्, कसले कारबाही गरोस् ? साभारः जनआस्थाबाट ।