☰ open Loading... 1 May 2024|  

प्रचण्डजस्तो इमान्दार नेता अरु कोही छैन – माधव नेपाल
  | ४ माघ २०७७, आईतवार ०७:१९

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन् ।

दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको भन्दै प्रशंसा गरे । इमान्दार नेताका रुपमा प्रचण्ड देखिएको बताउँदै अध्यक्ष नेपालले केपी ओली विध्वंशको प्रतीक भएको आरोप लगाए।

अध्यक्ष नेपालले संविधानविपरीत कार्य गरेकाले ओलीले जनताबाट सजाय पाउने दाबीसमेत गरे । ओलीमा कुनै नैतिकता नै नभएको बताउँदै अध्यक्ष नेपालले अहमता र तानाशाह प्रवृत्ति केही दिनमै ढल्ने दाबी गरे । दाङमा नेकपाको प्रचण्ड–माधव पक्षले जिल्ला स्तरीय भेला आयोजना गरेको छ ।

‘लोकतन्त्र जोगाउने जिम्मेवारी फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको छ ,’ नेपालले भने, ‘त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ र अन्य दलसँग पनि संयुक्त आन्दोलनको लागि वार्ताको तयारी भइरहेको छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेकपा अध्यक्ष नेपाललले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संयुक्त रुपमा मिलेर आन्दोलन गर्ने वातावरण निर्माण हुन थालेको बताए।

त्यस्तै उनले नेता बामदेव गौतमले पार्टी एकताका लागि गर्ने भनेको प्रयास सम्भव नरहेको ठोकुवा गरे। ‘उहाँले नेकपा एकताको लागि गर्ने प्रयास भनेको असम्भव कुरा हो,’ उनले भने, ‘त्यो भनेको बालुवाबाट तेल निकाल्न खोज्नुभन्दा अर्कौ हुने छैन।’ नेपालले अब फेरि केपी ओलीसँग एकता सम्भव नरहेको स्पष्ट पारे।

त्यस्तै अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्डलाई इमान्दार र बफादार नेताको संज्ञा दिए।

प्रधानमन्त्री ओलीकै कारण पार्टी विभाजन भएको भन्दै उनले ओली बिध्वंसको अर्कौ रूप भएको दोषारोपण गरे। ‘नेपाली शब्दकोषमा भेटिने जति पनि तुच्छ शब्दहरू छन्, ती सबै ओलीका लागि प्रयोग गर्दा फरक पर्दैन,’ उनले भने।