☰ open Loading... 1 May 2024|  

विरोधसभामा मर्यादाक्रम मिच्दा….
  | ४ माघ २०७७, आईतवार २०:१८

सुर्खेत-नेपाली कांग्रेसले वर्तमान सरकारले गरेको संसद विघटन विरुद्धको विभिन्न स्थानीय तहमा गरिएको विरोध कार्यक्रमका प्रमुख अतिथिहरुमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र र पूर्व राज्यमन्त्री तप्तवहादुर विष्टको प्रदेशसभा निर्वाचन क्षेत्रमा बरियताक्रमको धज्जी उडाउँदै बलमिच्याईं गरेको पाइएको छ।
हिजो सुर्खेतका बराहताल गाउँपालिका, गुर्भाकोट नगरपालिकामा पदीय जिम्मेवारीका हिसावको बरियतामा माथि रहेका नेताहरुलाई बेवास्ता गरी कनिष्ठहरुलाई प्रमुख अतिथि बनाएपछि बलमिच्याईं गरेको पाइएको हो। बराहताल गाउँपालिकामा आयोजित विरोध कार्यक्रममा कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतलाई आयोजकले प्रमुख अतिथि बनाएको थियो।

जबकि कार्यक्रममा पूर्व संघीय सांसद एवं पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल पनि सहभागी हुनुहुन्थ्यो। दुई पटक संघीय सांसद, पूर्वराज्यमन्त्री र करिव १० वर्षसम्म कांगे्रेस सुर्खेतको जिल्ला उपसभापति भइसकेका बस्याललाई बेवास्ता गरेर बरियता मिचेर सचिव रावतलाई प्रमुख अतिथि बनाइएको हो।
रावतलाई प्रमुख अतिथि बनाएपछि पूर्वराज्यमन्त्री बस्यालले आफू अपमानित भएको महसुस गरी आक्रोश पोख्रनुभयो।
दुई पटक संघीय सांसद र राज्यमन्त्री भइसकेको व्यक्तिभन्दा कनिष्ठलाई नियतबस प्रमुख अतिथि बनाउनुले आफ्नो अपमान गरिएको र बरियताको खिल्ली उडाएको बस्यालले बताउनुभयो।पार्टीको महामन्त्रीकै जिल्लामा बरियता मिचेर पेल्ने शैलीको आलोचना गर्नुभयो।

यसैगरी हिजो नै गुर्भाकोट नगरपालिकाको बोटेचौरमा आयोजना गरिएको विरोध कार्यक्रममा जिल्ला कोषाध्यक्ष अनन्त पौडेल सहभागी भएपनि जिल्ला सदस्य गोविन्द कोइरालालाई प्रमुख अतिथि बनाइएको थियो। कोषाध्यक्ष पौडेलले पदीय जिम्मेवारी माथि भए पनि आयोजकले बरियताक्रमको खिल्ली उडाएर जिल्ला सदस्यलाई प्रमुख अतिथि बनाएकोमा आपत्ति प्रकट गर्नुभयो। उहाँले नियतबस आफूलाई प्रमुख अतिथि नबनाइएको भन्दै विरोध कार्यक्रममा असन्तुष्टि पनि पोख्नुभयो। यता कांग्रेस सुर्खेतले पनि विभिन्न कार्यक्रमहरुमा बरियता र मर्यादाक्रमको ख्याल गर्न आग्रह गरेको छ।
कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीले जुनसुकै कार्यक्रममा पनि पदीय मर्यादाक्रम र बरियताको हेक्का राख्न सुझाव दिएका छन। गृह मन्त्रालयले २०७६ साल बैशाख १६ गते नेपाल राजपत्रको खण्ड ६९, संख्या ३, भाग ५ मा प्रकाशित गरेको मर्यादाक्रम अनुसार नेपाल सरकारका पूर्व सांसद, पूर्व मन्त्रीलाई १० औं स्थानको बरियतामा राखेको छ।