☰ open Loading... 23 April 2025|  

सुस्त सेवा भएको भन्दै मालपोतमा नाराबाजी
  | ७ माघ २०७७, बुधबार १८:२२

सुर्खेत । जिल्ला मालपोत कार्यालय सुर्खेतमा सेवा लिन आएका सेवाग्राही चार बुँदे माग राखेर आन्दोलित भएका छन् । दैनिक सेवाग्राहीको चाप बढ्दो भए पनि कार्यालयको काममा ढिलासुस्ती भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

मालपोत कार्यालय अगाडि उनीहरुले केहीबेर नाराबाजीसमेत गरेका थिए । दिनहुँजसो सेवाग्राहलाई पर्न गएको सेवालाई चुस्तदुरुस्त बनाउनुपर्ने, कार्यालय प्रमुखको स्वीकृतबिना कर्मचारी मनोमानी ढंगले बिदा बसेकालाई कारबाहीको दायरामा ल्याउनु पर्ने, कर्मचारी थप गरी मंगलबारदेखि सेवाग्राहीलाई सेवा दिने र कार्यालय समयभन्दा अतिरिक्त समयमा पनि कर्मचारीको व्यवस्था गरी अहिले तत्कालरुपमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने माग राखेर उनीहरुले आन्दोलन गरेका छन् । जिल्ला मालपोत कार्यालयमा दैनिकजसो सयौं सेवाग्राहीको भिड लाग्छ ।

जनशक्ति अभाव र मालपोत कार्यालयको ढिलासुस्तीले गर्दा सेवाग्राहीको काममा ढिलासुस्ती हुँदै आएको छ । ‘एउटै व्यक्तिको काम हुन चार÷पाँच दिन लाग्छ,’ जिल्ला मालपोत कार्यालयमा सेवा लिन आएका वीरेन्द्रनगर–४ का नरेन्द्र कोइरालाले भने, ‘जसले गर्दा हामीले धेरै सास्ती पाएका छौं ।’ एउटै काममा यति धेरै समय लाग्ने हुँदा अरु कामसमेत प्रभावित भएको उनको भनाइ छ ।

‘हामीलाई सहज ढंगले छिटो छरितो बिना झन्झटिलो ढंगले सेवा चाहान्छौं,’ उनी भन्छन्, ‘नत्र हामी अझ सशक्तरुपमा आन्दोलनमा जान्छौं ।’ मालपोत कार्यालयले सेवाग्राहीको काममा छिटोछरितो गराउन पहल नगरेको भन्दै आफूहरु आन्दोलिन हुनुपरेको सेवाग्राहीहरुको भनाइ छ । सेवाग्राहीहरुले आन्दोलन गरेपछि कार्यालयको सेवा केही समय प्रभावितसमेत भएको थियो ।

साथै सेवाग्राहीहरुले सेवाग्राहीको चाप हुने क्षेत्रका नागरिकलाई लक्षित गरी उक्त ठाउँमा इलाका कार्यालयको व्यवस्था गर्नुपर्ने बताएका छन् । जसले जिल्लामा भिडभाड कम हुने र सेवाग्राहीले नजिकैबाट बिना झन्झिटिलोरुपमा सेवा लिने उनीहरुको भनाइ छ ।