☰ open Loading... 21 May 2024|  

अन्ततः महावुमा सुरु भयो टेलिमेडिसिन सेवा, स्थानीय उत्साहित
  | २५ माघ २०७७, आईतवार ०८:५५

दैलेख – जिल्लाको महावु गाउँपालिकामा टेलिमेडिसिन सेवाको सुरुवात भएको छ । लामो समयसम्म विज्ञापन गरेपनि एमविविएस डाक्टर नपाएको महावु गाउँपालिकामा प्रदेश अस्पताल कालागाउँ सुर्खेतका वालरोग विशेषज्ञ डा. नवराज केसीले शनिबार देखि महावु अस्पतालमा टेलिमेडिसिन सेवाको सुरु गराएका हुन । गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीको स्वास्थ्य चेकजाँच गरेर डा. केसीले उक्त सेवाको सुरुवात गरेका हुन ।
‘लामो समयदेखि महावु अस्पतालका लागि डाकटर खोज्नु भएको रहेछ । मिडियामा डाक्टर नपाइएको भन्दै समाचार सार्वजनिक भएपछि म त्यहाँ गएको हुँ ।’ नेपालप्रेससँग कुरा गर्दै डा. केसीले भने, ‘यहाँका जनताको सर्वसुलभ उपचार गर्ने सपना पुरा गर्न म महावु आएको हुँ ।’ उनले टेलिमेडिसिनमार्फत प्रदेश अस्पताल कालागाउँका फिजिसियन डा. प्रदिप न्यौपानेमार्फत अध्यक्ष शाहीको स्वास्थ्य जाँच गराएका थिए ।
स्थानीय उत्साहित
महावु मा नै विशेषज्ञ डाकटरहरुले भिडियो कलमार्फत उपचार पाइने भएपछि स्थानीय खुशी भएका छन् । महावु गाउँपालिका वडा नं. ४ का कमल शाहीले एच एको सेवा पाइरहेका नागरिकले विशेषज्ञ डाक्टरसँग निःशुल्क स्वास्थ्य जाँच गराउन पाउनु गज्जब भएको प्रतिक्रिया दिए । ‘यहाँ एच ए वा सिएमए गरेका स्वास्थ्यकर्मीबाट सेवा लिनुपर्नें अवस्था थियो ।’ उनले भने, ‘डाक्टरले भिडियो हेरेर औषधी दिने रहेछन् । त्यसले हामीलाई उत्साही बनाएको छ ।’ उनले गाउँमा नै विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सुरु भएपछि अनावश्यक खर्च पनि कम हुने नन्द सुनारले बताए । ‘मेरो शरिर दखिरहेको थियो । आज डाकटरसँग आफ्रनै गाउँमा भिडियो हेरेर स्वास्थ्य जाँच गर्न पाउँदा भाग्यमानी ठानेको छु ।’ ७७ वर्षीय सुनारले भने, ‘अब गाउँत्रबाट उपचार गर्न गरिब नागरिकलाई सजिलो हुने मैले महसुस गरेको छु । यस्तो सेवा सुरु गर्ने पालिकालाई धन्यवाद छ ।’
अब डाक्टर आउँछन्ः अध्यक्ष शाही
गाउँपालिकाका अध्यक्ष शाहीले अबको केहि दिनमा नै महावु अस्पतालमा डाकटर आउने बताए । ‘सुरुमा हामीले डाक्टर पाएका थिएनौं । अहिले धेरै डाक्टरले रुचि देखाउनु भएको छ ।’ उनले भने, ‘अबको केहि दिनमा नै डाकटर पनि हामी ल्याउँछौं । यहाँका जनतालाई रोगबाट मर्न नदिने गरी योजना बनाइरहेका छौं ।’ उनले ६ करोडको लागतमा अस्पतालको भवन बनाइरहेको बताउँदै केहि दिन भित्रै थप नौ करोडको भवन निर्माणका लागि टेण्डर सुरु हुने जानकारी दिए । उनले अस्पतालबाट टेलिमेडिसिन सेवा पनि निरन्तर दिने र डाकटरबाट पनि सेवा दिने गरी आफूहरु अघि बढेको बताए ।