☰ open Loading... 26 April 2024|  

अमेरिकाद्वारा नेपाललाई कोरोना खोप दिने घोषणा
  | २१ जेष्ठ २०७८, शुक्रबार ०६:३६

काठमाडौं । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरिएको हो ।

नेपालसहित१६ एसियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् । राष्ट्रपतिको अनुरोध सँगै अमेरिका नेपाललाई खोप दिन सकारात्मक देखिएको थियो ।

खोप उपलब्ध गराउने घोषणा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् । अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा खोप उपलब्ध गराउने नेपाललगायत मुलुकको सूची सार्वजनिक गरेको हो । अमेरिकाको यो खोप वितरण खाकाअनुसार ७५ प्रतिशत खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण हुने जनाइएको छ ।

अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्यअमेरिकी मुलुकका लागि ६ मिलियन, अफ्रिकी मुलुकका लागि ५ मिलियन खोप वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ ।