☰ open Loading... 23 December 2024|  

निष्कासित ४ सांसद एमालेमा फर्किए
  | ३१ जेष्ठ २०७८, सोमबार १९:३६

 

 

 

 

 

 

 

 

 

सुर्खेत । कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् ।सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेका छन् ।

 

‘एमाले प्रदेशसभा संसदीय दलको पत्रको आधारमा पदमुक्त हुनुभएका माननीय प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पुनर्बहाली भएको छ,’ सभामुख शाहीले भने ।

सर्वोच्च अदालतबाट प्रदेशसभा सचिवालयका नाममा जारी भएको अन्तरिम आदेश सुनाउँदै शाहीले भने, ‘सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार चार जना माननीयको एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कर्णाली प्रदेशसभा सदस्यको पद कायम रहेको जानकारी गराउँछु ।’सभामुखले पत्र पढेसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलले पुनर्बहाली भएका चारैजना सांसदलाई प्रतिपक्षको सिटमा बस्न चेतावनी दिएका छन् । एमालेको सांसद लिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार चलाउने कुरा मान्य नहुने कँडेलले बताए ।

‘हामीले अन द स्पट, संसदको कारबाहीलाई रोक्नु पर्ने विषय छ । पुनर्बहाली भएका साथीहरु सरकारमा हुनुहुन्छ । हाम्रा सांसदलाई कोही कसैले कहीं राख्ने अधिकार छैन,’ नेता कँडेलले भने, ‘यस्तो अवस्थामा छलफल कसरी चल्छ रु तर हामी छलफल चल्दासम्म धैर्य गर्छौं, एमालेका सांसदलाई लिएर सरकार चलाउने कुरा हाम्रा लागि किमार्थ मान्य हुनेछैन ।

 

गत वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधवकुमार नेपाल पक्षका चार सांसदलाई एमालेले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए । तर त्यसविरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै उनीहरुको प्रदेश सांसद पद थमौती गरिदिएको थियो ।

४ जना एमालेका सांसदको पुनर्बहाली भएसंगै ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेसँग सभामुखसहित २० जना सांसद भएका भएका छन् । यस्तै माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद रहेका छन् । साथै राप्रपाले पनि प्रदेश सरकारलाई समर्थन नगरेकोले जम्मा १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् ।