☰ open Loading... 15 November 2024|  

बाढीबाट डेढ लाख व्यक्ति प्रभावित हुने अनुमान
  | ५ असार २०७८, शनिबार ०५:२७

बाँके : यस वर्ष असार महिना नलाग्दै शुरु भएको मनसुन र लगातार वर्षासँगै देशका अन्य जिल्लाहरु झैं बाँके जिल्ला पनि विगत वर्षहरुमा जस्तै बाढीको चपेटामा पर्ने पूर्वानुमान गरिएको छ ।

 

हरेक वर्ष हुने राप्ती नदीको कटान, भारतले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेर नेपाल–भारत सिमानामा पर्ने जिल्लाको पूर्वी भूभागमा बनाएको लक्ष्मणपुर बाँधका कारण हजारौं विगाहा जमिन डुवान हुने, धनजनको अपुरणीय क्षति हुन क्रम यस वर्ष पनि दोहोरिने आँकलन गरिएको छ । वर्षाद शुरु भएपछि मात्र तात्तिने केन्द्रीय तथा स्थानीय सरकार र राजनीतिक दलका नेताहरु वर्षाद सकिएपछि वर्षभरि कानमा तेल हालेर बस्ने गर्छन् ।

 

यसैबीच जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो वर्षको वर्षामा विपद्बाट २५ हजार घर परिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरिसकेको छ ।

 

गएको सोमबारदेखि परेको लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोको विपद व्यवस्थापनबारे छलफल गर्न र पूर्व तयारीका लागि बोलाइएको बैठकमा उक्त आँकलन गरेको हो ।

 

राप्ती नदीमा पानीको सतह बढ्दै गएर नदी वरिपरिका गाउँबस्तीहरु डुबानको उच्च जोखिममा परेपछि बाँकेका उच्च अधिकारीले बिहीबार विभिन्न स्थानमा नदीको निरीक्षण गरेका छन् । शुक्रबार विपद व्यवस्थापन समितिका अध्यक्ष तथा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु तथा रेडक्रस सोसाईटी सहितको टोलीले कुसुुम र अगैयामा पुगेर अवस्था बारे जानकारी लिएको छ । सो टोलीले राप्तीसोनारी गाउँपालिकाको कुसुममा राप्ती नदीमा राखिएको जलस्तर मापन केन्द्र र अगैयास्थित सिक्टा सिंचाईको मुख्य बाँधको निरीक्षण गरेर पानीको सतह बढ्दै गएको पाएपछि जिल्ला भरि हाई अलर्ट जारी गरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । उनले कुसुमको जलमापन केन्द्रलाई सजक र सतर्क रही पानीले खतराको विन्दू पार गरेर डुबान पार्ने संकेत गरे लगत्तै सबैलार्ई खबर गर्न निर्देशन दिइएको बताए ।

 

बुधबार बिहान राप्ती नदीले खतराको संकेत पार गरेका थियो । तर, पछि पानीको सतह घट्दै गएको थियो । बिहीबार बिहानदेखि फेरि निरन्तर नदीको सतह बढी रहेको मापन केन्द्रले जनाएको छ । बाढीको अत्याधिक जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकाको पुर्व तयारी र हालको अवस्थाका बारेमा छलफल गर्न बिहीबार अगैयामा एक बैठकको आयोजना गरिएको थियो ।

 

सो बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल, प्रहरी प्रमुख एसपी ओम राना, सशस्त्र प्रहरीका एसपीहरु अशोक बम र प्रकाश सुुवेदी, राष्ट्रिय अनुसन्धानका एसपी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, वडा अध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झना,  उद्योग बाणिज्य संघ लगायतका संस्थाका प्रतिनिधिहरु सहभागी भएको विपद व्यवस्थापन समितिका सुचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिएका छन् ।

 

सो अवसरमा बाढीबाट जोगिने तयारी र हालको अवस्थाका बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो । बाढी र डुबानबाट सर्वसाधारणलाई जोगाउन सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई तालिम दिएर जोखिमका क्षेत्रमा खटाइएको बाँकेका एसपी रानाले मध्यान्हलाई बताए । उनले जिल्लाका सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको पनि बताए । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार यस वर्ष करीब १० हजार घर परिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ । नेपालगन्जमा बसेको उक्त बैठकले जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ समेत स्वीकृत गर्दै बैठकले बाढी र डुबानबाट हुने जोखिम कम गर्न सचेतना अभिवृद्धिका लागि वर्षा र बाढी सम्बन्धी सूचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सञ्चार माध्यमहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरि मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपद्को खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दी स्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, स्थानीय पालिका र रेडक्रसको सहभागितामा असार ११ गते विहान ११ बजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ ।

 

बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार संख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिका भित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको  अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रूत लेखाजोखा र घरधुरी सर्वेक्षण फाराम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय गरेकोछ । अत्यावश्यक सामाग्री खानेकुरा, कपडा, औषधी, पानीहरुको आवश्यक भण्डारण गर्ने, महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्गता भई उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष ध्यान दिने निर्णय गरेको छ ।

 

नजिकको नदी, नालामा पानीको बहावको सूचना लिई नदीको सतह बढेको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

 

त्यसैगरि बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुनसक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालीन तटवन्धको लागि कार्य गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने गरेको छ ।

 

यसैबीच सोमबारदेखि भएको लगातार वर्षाका कारण देशका विभिन्न भू–भाग बाढी तथा पहिरोबाट प्रभावित भएको छ । बाँकेको राप्ती तटिय क्षेत्रमा पानीको बहाव बढेर पानीको लेवल खतराको नजिक आइसकेको छ । विहीवार बाढी मापन केन्द्रले गरेको मापन अनुसार पानीको बहाव ५ दशमलव १७ पुगेको छ । बाँकेको कुसुमको अगैयामा रहेको राप्ती नदीको व्यारेजका सबै ढोकाहरु खुल्ला राखिएको छ भने राप्ती तटिय क्षेत्रमा उद्धार कार्यका लागि टोली खटाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

 

दाङमा राप्ती नदीमा बाढी आएर नदीको टापुमा फसेका ४ जना व्यक्तिलाई सशस्त्र प्रहरी बलले १९ घन्टापछि उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नम्बर २९ ज्वालामाइ गणबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल र नम्बर ४१ रिजर्व गण चन्द्रौटा कपिलवस्तुबाट सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माको कमान्डमा गएको विपद् व्यवस्थापन सहितको टोलीले चार जनाको उद्धार गरेको हो । विश्वकर्माका अनुसार दाङको लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीको टापुमा मंगलवार दिउँसो २ बजेबाट लमही–७ का ४८ वर्षका मन्सराम चौधरी, राजपुर–२ का वर्ष ५० की सावित्री यादव, वर्ष २६ का राधेश्याम यादव र राजपुर ३ का वर्ष २५ का गणेश यादव टापुमा फसेका थिए ।